पत्रकार महासंघ खोटाङद्वारा दुई पत्रकार पुरस्कृत, पाँच अग्रज पत्रकार सम्मानित

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघ खोटाङले दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँचजना अग्रज पत्रकारलाई सम्मान गरेको छ । महासंघको १२औँ साधारणसभाको अवसरमा शनिबार जिल्लामा क्रियाशील दुई पत्रकारलाई पुरस्कार तथा पाँच अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा महासंघका पूर्वसचिव उत्तम चौलागाईं र वर्तमान कार्यसमितिका सहसचिव राजन ठटाल रहेका छन् । कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता चौलागाईं तथा एभी न्यूज टेलिभिजनका संवाददाता ठटाललाई यस वर्षको ‘विकास पत्रकारिता पुरस्कार’ प्रदान गरिएको महासंघका सचिव राजकुमार भट्टराई ‘सरगम’ले जानकारी दिए ।

महासंघले जिल्लामै रहेर समाज, देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउन योगदान पुर्याएको भन्दै दुवै पत्रकारलाई नगद रु. पाँच–पाँच हजारसहित सम्मान गरेको हो । तत्कालीन जिल्ला विकास समिति खोटाङसँगको सहकार्यमा स्थापना गरिएको ‘विकास पत्रकार कोष’मार्फत हरेक साधारणसभामा जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गर्दै आइएको छ ।

सम्मानित हुने अग्रज पत्रकारमा प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य, पूर्वअध्यक्षद्वय डम्बरसिंह राई र दमन राई, अग्रज पत्रकार भीम राई तथा निवर्तमान अध्यक्ष दिलीप खत्री रहेका छन् । पत्रकारितामार्फत सभ्य समाज निर्माणमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए ।

पुरस्कार तथा सम्मान नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य र शिव गाउँलेलगायतले प्रदान गरेका थिए । पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य राजकुमार ओलीको उपस्थितिमा सम्पन्न साधारणसभाले आगामी वर्षका लागि शाखाले तय गरेका विभिन्न नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

दिक्तेलस्थित होटेल शुभदिनमा आयोजित साधारणसभाले महासंघद्वारा स्थापना गरिएको ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’लाई समेत मान्यता दिएको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यले रु. १० लाख राशिको उक्त कोष स्थापना गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

उनका अनुसार ६५ वर्ष उमेर पूरा गरी कम्तीमा २५ वर्षदेखि जिल्लामै निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई मासिक रु. तीन हजारका दरले पेन्सन उपलब्ध गराइनेछ । कोष नेपाल पत्रकार महासंघ शाखा खोटाङको मातहतमा रहनेछ । प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचारवाचक, फोटो पत्रकार तथा व्यंग्य चित्रकारले समेत उक्त सुविधा लिन सक्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैबिच, नेपाल पत्रकार महासंघ खोटाङले ‘खोज पत्रकारिता एवं मल्टिमिडिया’सम्बन्धी पाँचदिने तालिम पनि सम्पन्न गरेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जेठ ५ गतेदेखि सञ्चालन गरिएको तालिममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्षद्वय डा. सुरेश आचार्य र शिव गाउँलेले खोज पत्रकारिताका विषयमा तथा फोटो पत्रकार संघका पूर्वकेन्द्रीय अध्यक्ष विकास कार्कीले मल्टिमिडियाबारे सहजीकरण गरेका थिए ।

जिल्लामा क्रियाशील पत्रकारलाई खोज पत्रकारिता र डिजिटल पत्रकारितामा दक्ष बनाउने उद्देश्यले आयोजित तालिममा ३० जना पत्रकारको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सुझावित समाचार