राजगढ गाउँपालिका अध्यक्ष धरौटीमा छुटे, वडाध्यक्ष फरार

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

हत्याको आरोप लागेका सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल धरौटीमा रिहा भएका छन् भने कुटपिट घटनामा आरोपित राजगढ गाउँपालिका– २ का वडाध्यक्ष जितेन्द्रकुमार यादवमाथि पक्राउ पुर्जी जारी भएलगत्तै कार्यवाहक तोकेर फरार भएका छन्।

मन्दिरको नाममा रहेको खेतको धान वितरण गर्न नमानेको विवादमा तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको हत्या भएको २७ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन सकेको छैन।

पुजारी हत्या प्रकरणका आरोपित राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलका बुबा तथा तत्कालीन बेल्हीचपेना गाविस अध्यक्ष गंगाराम मण्डलसहित रामदेव सदा मुसहर, मनिक शर्मा, बच्चा यादव बौका र भोलिछन सदा अझै फरार छन्। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसके पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको आरोप छ। 

आरोपित सातजनामध्ये दुईजना धरौटीमा छुटे

हत्या अभियोगमा आरोपित सातजनामध्ये दुईजना धरौटीमा छुटेका छन्। रामनारायण मण्डल २९ मंसिर ०८२ मा  दुई लाख रुपैयाँ धरौटीमा छुटेका थिए। सप्तरी जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले अदालतमा हाजिर भएका मण्डललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियाे। त्यस्तै, गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल पनि धरौटीमा रिहा भएका छन्  ।

अदालतमा हाजिर भएका गाउँपालिकाका अध्यक्ष मण्डल १७ पुस ०८२ मा  धरौटीमा रिहा भएका हुन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश  रोमनाथ अधिकारीको एकल इजलासले दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको शव ०५५ साल साउन ३ गते फेला परेको थियो। हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका ओमप्रकाश मण्डलका बुबा गंगाराम मण्डलले मन्दिरको नाममा रहेको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेपछि विवाद चर्किएको र त्यसकै कारण हत्या भएको अभियोगपत्रमा उल्लेख छ।

अभियोगपत्रअनुसार राजविराजमा बैठक गर्ने बहानामा पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण पुलनजिक हत्या गरी शव नहरमा फालिएको थियो। मन्दिरको बाली लुटपाट र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगाराम मण्डलविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदनसमेत दिएका थिए।

तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छन्, भेटेर प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भन्दै बच्चा यादव बौकाले पुजारीलाई लिएर गएको अभियोगपत्रमा उल्लेख छ। त्यसको १० दिनपछि पुजारीको शव फेला परेको थियो। उक्त शवको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षणसमेत गरिएको छ।

अभियोगपत्रमा भनिएको छ, ‘मन्दिरको नाममा रहेको जग्गा र पोखरीको आम्दानी हिनामिना भएको तथा बाली लुटपाटसम्बन्धी विवादका कारण रिसइबी राखी मृतकलाई कर्तव्य गरी हत्या गरी नहरमा शव फालिएको पुष्टि भएको छ।’ 

पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सम्पर्कविहीन

सप्तरीको राजगढ गाउँपालिका– २ का वडाध्यक्ष जितेन्द्रकुमार यादव पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका छन्। कुटपिट घटनामा आरोपित वडाध्यक्ष यादवसहित पाँचजनाविरुद्ध गत सोमबार पक्राउ पुर्जी जारी भएको हो।

२१ कात्तिक ०८१ मा सोही वडाको बनैनियाँस्थित सार्वजनिक जग्गामा वडाध्यक्ष यादवलगायतले घर बनाउन लाग्दा स्थानीय ललनकुमार सिंहलगायतले विरोध जनाएका थिए। त्यसपछि आक्रोशित बनेका वडाध्यक्ष यादव र सोही ठाउँका शिवन खंग, टुनु खंग, पशुपति खंग तथा श्रीराम खंगले सिंहमाथि रड प्रहार गरेका थिए। कुटपिटबाट सिंहको हात भाँचिएको थियो।

सिंहले कुटपिट गरी अंगभंग पारेको कसुरमा २५ कात्तिकमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी लिन नमानेको आरोप छ। पछि सिंहले ९ माघ ०८१ मा जिल्ला सरकारी वकिल कार्यालयमार्फत प्रहरीमा जाहेरी पठाएका थिए। त्यसवेला पनि प्रहरीले सनाखतसहितका कानुनी प्रक्रिया पूरा गर्न आनाकानी गरेको बताइएको छ। त्यसपछि सिंहले ५ चैत ०८१ मा उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशको रिट दायर गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै १४ जेठ ०८२ मा न्यायाधीशद्वय पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयका नाममा न्यायप्रशासन ऐन, २०७३ को दफा ८(१) बमोजिम परमादेश जारी गरेको थियो।

वडाध्यक्ष यादव मंगलबार वडासदस्य सुमित्रादेवी खंगलाई निमित्त तोकेर सम्पर्कविहीन बनेका हुन्। चार दिनअघि वडाध्यक्षले खंगलाई निमित्त वडाध्यक्षको जिम्मेवारी तोकेको वडासचिव रामकुमार यादवले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले घटनाबारे अनुसन्धान भइरहेको बताए।
 

सुझावित समाचार