राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गर्दा संघीयता हटाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा गरेको संविधान संशोधनको सन्दर्झमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तर्त्रियामा उनले संविधान संशोधन बहसपत्र निर्माण कार्यदलप्रति आंशका व्यक्त गरे ।
उनले राजा आऊ, देश बचाऊ अभियानमा संलग्न व्यक्ति कार्यदलमा भएका कारण कैयौँ प्रश्न र आशंका पैदा भएको बताए । संघीयताले मुलुकको राष्ट्रियता र अर्थतन्त्रमा गम्भीर संकट ल्याएको र प्रदेश संरचनाले खर्च बढाएको भन्दै संघीयता खारेजीमा आफूहरूको जोड रहँदै आएको केसीले बताए ।
उनले संविधान संशोधनको नाममा मुलुकलाई थप संकटतर्फ धकेल्ने काम हुन सक्ने धारणा राख्दै गणतन्त्रवादीहरू सचेत हुनुपर्नेमा जोड दिए । संविधान संशोधनका मुद्दा पहिचान गर्दा गणतन्त्र र राष्ट्रियताको प्रश्नमा विदेशी हस्तक्षेपबाट मुक्त हुनुपर्ने पनि उनको भनाइ थियो ।
गणतन्त्र र राष्ट्रियताको विषयमा अस्थिरता ल्याउने खालका संशोधन स्वीकार्य नहुने, संविधानको संस्थागत विकास र समावेशितालाई बलियो बनाउने गरी संशोधन हुनुपर्ने, गणतन्त्रको संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले विदेशी हस्तक्षेप बढ्दै गएको बताए । कार्यक्रममा राजमोका तर्फबाट तयार पारिएको १५ बुँदे अवधारणापत्र पनि प्रस्तुत गरिएको थियो ।