क्युबामाथि किन खनिँदै छ अमेरिका ?

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण
  • क्युबाको कम्युनिस्ट पार्टीका प्रमुख व्यक्तित्व क्यास्ट्रो र पाँच सह–प्रतिवादीविरुद्धको आपराधिक अभियोगले क्युबा र अमेरिकाबिचको तनावलाई अझ बढाउनेछ

सन् १९९६ मा दुई नागरिक विमान खसालेको र चारजनाको मृत्यु भएको घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसै साता क्युबाका पूर्वनेता राउल क्यास्ट्रोविरुद्ध आपराधिक आरोप लगायो । बुधबार कार्यवाहक अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले अभियोगलाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरे । ‘लगभग ७० वर्षमा पहिलोपटक क्युबाली शासनका एक वरिष्ठ नेतृत्वलाई अमेरिकी नागरिकको मृत्यु भएको हिंसात्मक कार्यका लागि अमेरिकामा अभियोग लगाइएको छ,’ ब्लान्चेले भने ।

क्युबाको कम्युनिस्ट पार्टीका प्रमुख व्यक्तित्व क्यास्ट्रो र पाँच सह–प्रतिवादीविरुद्धको आपराधिक अभियोगले क्युबा र अमेरिकाबिचको तनावलाई अझ बढाउने तयारी गरेको छ । दोस्रो कार्यकालका लागि पदमा फर्किएदेखि नै राष्ट्रपति ट्रम्पले हवानामा नेतृत्व परिवर्तनलाई प्रेरित गर्ने प्रयासमा प्रतिबन्ध बढाएका छन् र टापुमाथि इन्धनमा नाकाबन्दी लागू गरेका छन् । बुधबार ट्रम्पले भने, ‘हामीबाट नब्बे माइल १४५ किलोमिटर टाढा रहेको आतंकवादी गतिविधि सञ्चालन गर्ने दुष्ट राज्यलाई अमेरिकाले मान्दैन ।’ क्युबाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल एक्समा एक भिडियो बयान जारी गरे, जसमा उनले क्युबाली जनतालाई सम्बोधन गरे ।

उनले क्युबामा हालको आर्थिक र मानवीय समस्याको दोष त्यहाँको नेतृत्वलाई दिए र उनले सुधारको बदलामा अमेरिकी सरकारले १०० मिलियन डलरको मानवीय सहयोगको प्रस्ताव दोहोर्याए । यद्यपि, क्युबाली राष्ट्रपति मिगुएल डियाज–क्यानेलले १९९६ को गोलीकाण्डलाई ‘वैध आत्मरक्षा’का रूपमा वर्णन गरे । उनले थपे कि अमेरिकालाई ‘राम्रै हेक्का हुनुपर्छ कि त्यहाँ कुनै लापरबाही गरिएको थिएन, न त त्यहाँ कुनै अन्तर्राष्ट्रिय कानुन नै उल्लंघन भएको थियो ।’

सन् १९३१ मा जन्मेका राउल आफ्ना दाजु फिडेलसँगै अमेरिका समर्थित दमनकारी नेता फुल्जेनसियो बतिस्तालाई सत्ताच्युत गर्ने विद्रोह अभियानमा महत्वपूर्ण केन्द्रीय भूमिकामा थिए । पछि उनले १९६१ मा अमेरिका समर्थित ‘बे अफ पिग्स’मा भएको आक्रमण रोक्न मद्दत गरे र क्युबाली क्रान्तिको प्रमुख व्यक्तित्वमध्ये एक बने ।

क्यास्ट्रोले सन् १९५९ देखि सन् २००८ सम्म क्युबाको सशस्त्र सेना मन्त्रीका रूपमा सेवा गरे, जसले गर्दा उनी विश्वको सबैभन्दा लामो समयसम्म सेवा गर्ने रक्षामन्त्रीमध्ये एक बने । उनी सन् १९६५ देखि २०२१ सम्म कम्युनिस्ट पार्टीको शक्तिशाली पोलिटब्युरोका सदस्य पनि थिए ।

उनी सन् २००८ मा फिडेल क्यास्ट्रोका उत्तराधिकारी बनेका थिए र २०१८ सम्म पदमा रहे । तर, पद त्यागेपछि पनि उनले पर्दापछाडि रहेर उल्लेखनीय प्रभाव कायम राखेका छन् । आफ्नो राष्ट्रपतित्व कालमा राउलले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको नेतृत्वमा वासिंटनसँगको सम्बन्धमा सुधार ल्याए । ‘अमेरिकी जनता हाम्रा निकटतम छिमेकीमध्ये एक हुन् । हामीले एक–अर्कालाई सम्मान गर्नुपर्छ । हामीले कहिल्यै अमेरिकी जनताविरुद्ध केही गरेका छैनौँ । राम्रो सम्बन्ध पारस्परिक रूपमा लाभदायक हुनेछ । सायद हामी हाम्रा सबै समस्या समाधान गर्न सक्दैनौँ, तर हामी तीमध्ये धेरै समाधान गर्न सक्छौँ,’ क्यास्ट्रोले सन् २००८ को एक अन्तर्वार्तामा भनेका थिए ।

सन् २०१३ मा क्यास्ट्रो र ओबामाले जोहानेसबर्गमा नेल्सन मन्डेलाको स्मृतिसभामा हात मिलाए । एक वर्षपछि दुवै सरकारले पाँच दशकभन्दा बढीको शत्रुतापछि कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने र दूतावास पुनः खोल्ने योजना घोषणा गरे । पछि ओबामाले सन् २०१६ मा हवानाको यात्रा गरे । ओबामा ८८ वर्षमा क्युबा भ्रमण गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बने ।

अमेरिकी प्रतिबन्धले संकटग्रस्त क्युबा
९४ वर्षीय राउलविरुद्धको मुद्दा सन् १९९६ मा क्युबाली निर्वासित समूह ब्रदर्स टु द रेस्क्युद्वारा सञ्चालित दुई विमान खसालेको घटनामा केन्द्रित छ । यद्यपि, आलोचकहरूले यो अभियोग प्रतिबन्ध, आर्थिक जबर्जस्ती र कूटनीतिक अलगावमार्फत क्युबामा आफ्नो पकड बलियो बनाउन अमेरिकी नवऔपनिवेशिक प्रयासको एक हिस्सा भएको तर्क गर्छन् । सन् १९६० को दशकदेखि अमेरिकाले क्युबामा व्यापार प्रतिबन्ध लगाएको छ, जुन आधुनिक इतिहासको कुनै पनि देशविरुद्ध लगाइएको सबैभन्दा लामो प्रतिबन्ध हो । तर, त्यो आर्थिक तनाव जनवरीमा बढ्यो, जब ट्रम्पले भेनेजुएला र क्युबाबिच सहयोग र इन्धनको आदानप्रदान रोके । त्यसपछि उनले क्युबालाई इन्धन आपूर्ति गर्ने कुनै पनि देशविरुद्ध आर्थिक दण्डको धम्की दिए, जसका कारण देशको तेल आपूर्तिमा ब्रेक लाग्यो ।

क्युबाको पुरानो पूर्वाधार तेल आयातमा धेरै निर्भर छ । र, इन्धन कटौतीपछिका महिनामा क्युबाभर ब्ल्याकआउटको सामना गर्नुपरेको छ, जसले पहिलेदेखि नै कायम गम्भीर आर्थिक संकटलाई थप गहिरो बनाएको छ । क्यास्ट्रोले सन् २०१८ मा राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल समाप्त गरे पनि सन् २०१६ मा आफ्ना दाइ फिडेल क्यास्ट्रोको मृत्युपछि उनी क्युबाली राजनीतिमा सबैभन्दा बढी प्रभावशाली व्यक्तित्वमध्ये एक हुन् । क्यास्ट्रो दाजुभाइ सन् १९५९ को क्युबाली क्रान्तिका नेता थिए, जसले टापुको कम्युनिस्ट सरकारलाई सत्तामा ल्यायो । जनवरीमा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अपहरण र त्यहाँका तेल उद्योगमाथि कब्जा गरेपछि अमेरिकाले क्युबामा आफ्नो ध्यान केन्द्रित गर्दै शासन परिवर्तन र आर्थिक सुधारका लागि जोड दिएको छ ।

(म्यागी स्वतन्त्र पत्रकार तथा विश्लेषक हुन्)
अलजजिराबाट

सुझावित समाचार