नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई नवीकरण भएका शैक्षिक परामर्शदातृ संस्थाबाट मात्रै सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श संस्थाहरूको नामावली सार्वजनिक गर्दै स्वीकृतिप्राप्त संस्थामार्फत मात्र परामर्श लिन अनुरोध गरेको हो।

मन्त्रालयको जेठ ६ गतेको निर्णयअनुसार प्रकाशित सूचीमा एक हजार ४५९ शैक्षिक परामर्शदातृ संस्थाहरू समावेश छन्। उक्त सूची मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।

सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ अनुसार अनुमति नलिई सञ्चालन भएका तथा विद्यार्थीलाई झुटा कागजात र भ्रमपूर्ण आश्वासन दिएर आर्थिक ठगी गर्ने संस्थामाथि कारबाही अभियान तीव्र बनाएको जनाएको छ।

वैदेशिक अध्ययनका नाममा झुटा विवरण पेस गर्ने, सरकारी निकायका छाप तथा लेटरप्याड अनधिकृत रूपमा प्रयोग गर्ने तथा विनादर्ता सञ्चालन भएका संस्थाविरुद्ध कडा कानुनी कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ।

शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरण अभियान सञ्चालन गर्न शिक्षा मन्त्रालय र प्रहरीले देशभर संयुक्त अभियान चलाउने बताएका छन्। यद्यपि, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले शुद्धीकरण अभियानमा सहयोग रहने जनाउँदै सम्पूर्ण व्यवसायीलाई त्रसित नबनाउन आग्रह गरेको छ।

सुझावित समाचार