दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अवैध अनलाइन स्क्याम सेन्टरमा फसेका नेपाली नागरिकको उद्धार कार्य जारी रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ६८७ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित गैरकानुनी स्क्याम सेन्टरमा प्रलोभनमा परेर पुगेका नेपालीको खोजी तथा उद्धार कार्य निरन्तर भइरहेको जानकारी दिए।
उनका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली नियोग तथा सम्बन्धित निकायसँगको समन्वयमा यसअघि ६१६ जनाको उद्धार गरिएको थियो। पछिल्लो दुई सातामा थप ७१ जनालाई उद्धार गरी नेपाल फर्काइएको मन्त्रालयले जनाएको छ।
उद्धार गरिएकामध्ये कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट ६ जना नेपाली स्वदेश फर्किएका छन्।