सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति’ अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेनदार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी प्रदान गरिएको हो। आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन्। ‘अब पढाइलाई बिचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,’ एक विद्यार्थीले भावुक हुँदै बताए। अभिभावकले पनि बैंकले गरेको सहयोगले आफ्ना छोराछोरीको भविष्यप्रति नयाँ भरोसा जागेको प्रतिक्रिया दिएका थिए।
शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएकाले आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व रहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।