सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । कम्पनी ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर, नेपाल’बाट सम्मानित भएको हो । इन्डियन चेम्बर अफ कमर्सद्वारा थाइल्यान्डमा आयोजित कार्यक्रमबिच यो अवार्डको घोषणा गरिएको थियो ।
आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा ल्याइएको कम्पनीले जनाएको छ । यो प्रतिष्ठित पुरस्कारले कम्पनीको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आमनागरिकमाझ जीवन बिमाको पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको बताइएको छ ।
‘यो अन्तर्राष्ट्रिय सम्मान हाम्रा आदरणीय ग्राहक महानुभावले हामीप्रति देखाएको अटुट विश्वास, हाम्रा प्रगतिका संवाहक अभिकर्ता साथीहरू र कर्मचारी वर्गको कडा परिश्रमको प्रतिफल हो,’ कम्पनीले भनेको छ । कम्पनीले आगामी दिनमा आफ्ना सेवालाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै लग्ने बताएको छ ।