बागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ देखि

मन्त्रालय पुनर्संरचनापछि कार्यविभाजन नियमावली संशोधन

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्रदेश प्रमुख सिफारिस गर्ने निर्णयसहित तीनवटा निर्णय गरेको छ । बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन आह्वानदेखि मन्त्रालय पुनर्संरचना र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीस्वरूप अधिवेशन बोलाउने निर्णय गरेको जनाएको छ । प्रदेश प्रमुखबाट संविधानअनुसार अधिवेशन आह्वान भएपछि बजेट अधिवेशन सञ्चालन हुनेछ ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संख्या घटाइएपछि प्रशासनिक कार्यसम्पादनलाई व्यवस्थित बनाउन प्रदेश सरकारको कार्यविभाजन नियमावली संशोधन गर्ने निर्णय पनि गरेको छ । मन्त्रालयहरूको नयाँ संरचनाअनुसार जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट पार्न नियमावली परिमार्जन गर्न लागिएको मन्त्री तामाङले बताए । यसअघि गत वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम १४ मन्त्रालयलाई घटाएर आठवटा कायम गर्ने निर्णय गरेको थियो । आगामी साउन १ गतेदेखि लागू हुने गरी ६ मन्त्रालय गाभ्ने निर्णय प्रदेश सरकारले गरिसकेको छ ।

नयाँ संरचनाअनुसार अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहनेछन् ।

सरकारले मन्त्रालय पुनर्संरचनापछि प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउने तथा खर्च कटौतीसहित कार्यसम्पादनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ ।
बैठकले प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेका दुई अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदस्थापन गरेको छ। निर्णयअनुसार भक्तपुर अस्पतालमा डा. त्रिलोचनचन्द्र झा र धादिङ अस्पतालमा डा. नवीन मासिठलाई मेसुका रूपमा पदस्थापन गरिएको छ ।
 

सुझावित समाचार