ताप्लेजुङ ओलाङचुङगोलाका छेतेन टासी शेर्पाले गरे चौथोपटक कञ्चनजंघाको सफल आरोहण

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

विश्वको तेस्रो अग्लो कञ्चजंघा हिमालको छेतेन टाँसी शेर्पाले चौथोपटक सफल आरोहण गरेका छन्। उनले आरोहणपछि फक्ताङलुङ गाउँपालिकाको झन्डा हिमालको शिरमा फहराएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ का छेतेन टाँसी शेर्पाले कञ्चनजंघा हिमालको चौथोपटक सफल आरोहण गर्दै गाउँपालिकाको लोगो तथा झन्डा चुचुरोमा फहराएका हुन् ।

लगातार चौथोपटक कञ्चनजंघा आरोहणमा सफलता हासिल गरेका शेर्पाले आफ्नो जन्मथलो र गाउँपालिकाको पहिचान विश्वसामु चिनाउने उद्देश्यले हिमालको शिरमा झन्डा फहराएको बताए। उनको यस सफलताले फक्ताङलुङ गाउँपालिका मात्र नभई समग्र ताप्लेजुङ जिल्लालाई नै गौरवान्वित बनाएको फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए । 

कठिन मौसम र चुनौतीपूर्ण हिमाली मार्गबिच गरिएको यो सफल आरोहणलाई साहस, अनुभव र समर्पणको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ । शेर्पाको यस उपलब्धिप्रति स्थानीय तह, पर्यटनकर्मी तथा पर्वतारोहीको मनोबल उच्च भएको बताइएको छ । फिक्सिङ टोलीमा इम्याजिन नेपालको नेतृत्वमा दावा ग्याल्जे शेर्पा, छेतेन टासी शेर्पा, पाकिस्तानका सोहेल सेहजाद तथा एलिट एक्स्पिडिसनका बुद्धबहादुर गुरुङ सहभागी थिए । टोलीको सफलतापछि पर्वतारोहणपछि सो टोली बेसक्यम्पमा आइपुगेको शेर्पाले जानकारी दिए । उनीहरूले जेठ ५ गते साँझ ६:३० बजे चुचुरोमा पाइला टेकेका थिए । 
 

सुझावित समाचार