निकुञ्ज क्षेत्रमा रहेको हाइड्रोपावर बन्द गर्न आदेश

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

नियमविपरीत जुगल गाउँपालिकामा निर्माणाधीन तीनवटा हाइड्रोपावर कम्पनीलाई तत्काल काम रोक्न लाङटाङ राष्ट्रिय निकुञ्जले आदेश जारी गरेको छ ।  निकुञ्जका चिफ वाडेन श्यामकुमार शाहले कानुन पालना नगरी सञ्चालनमा रहेका हाइड्रोपावर तत्कालका लागि बन्द गर्न आदेश दिएको जानकारी दिए । ०८२ चैत २५ गते नयाँ पत्रिका दैनिकमा पहिलोपटक समाचार प्रकाशित भएपछि निकुञ्जले हाइड्रोपावर निर्माणस्थलको विभिन्न चरणमा निरीक्षण गरेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिन्धुपाल्चोक– १ मा सांसद रहेका भरतप्रसाद पराजुलीको लगानीमा सञ्चालित ३६.५ मेगावाटको ब्रह्मायणी हाइड्रोपावर जुगल गाउँपालिका– २, दिपु, १५.१५ मेगावाट अपरब्रह्मायणी छिन्ताङ र ७ मेगावाटको अर्को हाइड्रोपावरको काम बन्द गरिएको हो । ‘हामीले स्थलगत निरीक्षण गर्यौँ । जहाँ नियमविपरीत कार्य भएको पाइएपछि तत्कालका लागि काम रोक्न आदेश गरेका हौँ,’ चिफ वाडेन शाहले नयाँ पत्रिकासँग भने ।

वातावरण प्रभाव मूल्यांकन, जलविद्युत् कम्पनी अनुमति र अन्य सरकारी कागजात पूरा भए पनि जमिनको भोगाधिकार र रुख कटान अनुमति लिएको नदेखिएको उनले बताए । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पनि पालिकाभित्र रहेका कतिपय हाइड्रोपावर कम्पनीले भोगाधिकार अनुमति नलिएको जानकारी दिए । आफ्नो पालिकामा जलविद्युत् उत्पादनका लागि आउने लगानीकर्ता हतोत्साही नहून् भन्ने चाहना रहेको उनले बताए । ‘तर, राज्यले निर्देश गरेका कानुनको पालना गर्नु हामी सबैको दायित्व हो,’ उनले भने । 

निर्माणको क्रममा रहेका तीनवटै हाइड्रोपावर कम्पनीको निजी तथा सार्वजनिक जमिन जुगल गाउँपालिकाको २ नम्बर वडा तेम्बाथाङ, दिपु, साङलुङदेखि जुगलको फेदीसम्म लाङटाङ राष्ट्रिय निकुञ्ज र वडा नम्बर ३ को हिमाली क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्छ । उक्त जमिन लाङटाङ राष्ट्रिय निकुञ्जको रेडलाइन (कोर एरिया) र बफरजोन क्षेत्रमा पर्ने स्पष्ट देखिन्छ । गत वर्षदेखि गरिएको ब्लास्टिङ, उत्खनन र कटानले हरियाली पहाड उजाड बनेको छ । जंगल फडानीले संरक्षित जनावरको वासस्थान ध्वस्त भएको छ । स्थानीयको घर बस्न नहुने गरी चर्किएको छ । जुगल हिमाल र आसपास क्षेत्रको जैविक विविधतामा खलल पुगेको छ । 
 

सुझावित समाचार