ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीकी मुख्य अभियुक्त ज्योति गुरुङविरुद्ध जिल्ला अदालत ललितपुरले अदालतले उपस्थित हुन बुधबार २१ दिने म्याद सार्वजनिक गरेको छ । ज्योति कांग्रेस नेता (पूर्वउपसभापति) तथा पूर्वमन्त्री धनराज गुरुङकी पूर्वपत्नी हुन् ।
अदालतबाट सम्बन्धविच्छेद गरेपछि पनि नेता गुरुङले ज्योतिको ऋणको किस्ता तिरेको प्रमाण भेटिएकाले उनीहरूको सम्बन्धविच्छेद ‘कागजी’ मात्रै भएको भनेर आलोचना हुँदै आएको छ । तोकिएको अवधिभित्र अदालत उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढ्ने र त्यसपछि कुनै उजुरी नलाग्ने अदालतले भनेको छ ।
अदालतको सूचनामा भनिएको छ, ‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत आफ्नो सबुत प्रमाणसहित प्रतिउत्तरपत्र लिई यस अदालतमा उपस्थित हुनुहोला । म्यादभित्र नभई म्याद गुजारी बसे मुद्दा कानुनबमोजिम हुनेछ । पछि तपाईंको कुनै उजुरी लाग्नेछैन ।’
अदालतका प्रवक्ता टीकाध्वज कार्कीले ज्योति गुरुङविरुद्ध २१ दिनको म्याद सार्वजनिक भएको र त्यस अवधिमा हाजिर नभए कानुनबमोजिम मुद्दा अघि बढ्ने बताए । उनले भने, ‘ज्योति गुरुङविरुद्ध २१ दिनको म्याद सार्वजनिक भएको र त्यस अवधिमा हाजिर नभए कानुनबमोजिम मुद्दा अघि बढ्नेछ । त्यसपछि उहाँको उजुरी लाग्नेछैन ।’ ज्योतिसहितका प्रतिवादीविरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छन् । सोही मुद्दाका सम्बन्धमा अदालतले उनलाई उपस्थित हुन भनेको हो । उनीसहितका प्रतिवादीले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेका थिए ।
घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको थियो । घटनामा जोडिएका ज्योतिसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध गत ६ असोज ०८१ मै पक्राउ पुर्जी जारी गरिएको थियो । ज्योतिबहादुरलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको थियो । तर, गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा क्रममा उनी फरार भएका छन् ।
प्रहरीका अनुसार घटनामा संलग्न सबै अभियुक्त नेपालमा छैनन् । ज्योतिविरुद्ध प्रहरीले रेड कर्नर नोटिस नै जारी गरेको छ । उनी अहिले अमेरिकामा रहेको प्रहरी बताउँछन् । नेता धनराजसँग उनको २९ फागुन ०७६ मा सम्बन्धविच्छेद भएको देखिन्छ । ज्योतिले त्यसअघि नै ज्योतिबहादुरलाई सहकारीबाट तीन करोड रुपैयाँ दिएकी थिइन् । उनले त्यहीआसपास सहकारीको १२ करोड ९४ लाख ८९ हजार ३५७ रुपैयाँ अपचलन गरिन् ।
अपचलन भएको सोही रकममा ब्याज जोडेर सहकारीले लिनुपर्ने रकम १४ करोड ८१ लाख रहेको भन्दै आएको छ । सहकारीले यो पनि भनेको छ, ‘रकम अपचलन गर्ने ज्योति र धनराजबिचको सम्बन्धविच्छेद कागजी हो । त्यसो हुँदा रकम अपचलनमा ज्योतिसहित उनका पूर्वश्रीमान् धनराजको पनि भूमिका छ । अपचलन भएको रकम धनराजले पनि चुक्ता गर्नुपर्छ ।’
यसका लागि सहकारीले मुख्य आधार ३ फागुन ०७७ मा धनराजले सहकारीबाटै लिएको १२ लाख रुपैयाँ ऋणलाई मानेको छ । किनकि ऋणपत्रमा धनराजले हकवाला भनी ज्योतिकै नाम उल्लेख गरेका छन् । ऋणपत्रमा धनराजकै हस्ताक्षर छ । यो तथ्यलाई सांसद सूर्य थापाको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पनि स्वीकार गरेको छ ।