विदेश पठाउने नाममा झन्डै ९८ लाख ठगी, चारजना पक्राउ

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै झन्डै ९८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट– ६ घर भई काठमाडौं महानगरपालिका– २६ बस्ने ३० वर्षीय दीपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ, पाँचथरको फिदिम– १० घर भई ललितपुर गोदावरी– २२ बस्ने ४८ वर्षीय सूर्यप्रकाश खेजुम र काभ्रेको भुम्लु– ५ घर भई भक्तपुर सूर्यविनायक– ३ बस्ने ३३ वर्षीया शान्ति श्रेष्ठ रहेका छन्।

गुरुङद्वयले टर्की पठाउने भनी आठजनाबाट ८६ लाख २२ हजार ५७० रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यसैगरी खेजुमले साइप्रस पठाउने भनी एकजनाबाट नौ लाख ५० हजार र श्रेष्ठले लिथुआनिया पठाउने भनी एकजनाबाट एक लाख ९३ हजार ठगी गरेको बताइएको छ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार