संसदमा रास्वपा सांसद अधिकारीको प्रश्न– उत्पादनको मूल्य नपाएका किसानले छोराछोरीको स्कुल फी कसरी तिर्छन् ?

मुलुकमा खाद्यान्न हाेइन, खाद्य आत्मनिर्भरता चाहिएको छ

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लीमा अधिकारी आचार्यले किसानलाई कृषिजन्य उत्पादनको मूल्य तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।  बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले किसानलाई १५ दिनभित्र आफ्नो उपजको मूल्य पाउने कानुनी प्रबन्ध गर्न माग गरिन् । ‘म सरकारसँग माग गर्दछु, किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फर्स्याेट गर्ने कानुनी ग्यारेन्टी गरियोस्,’ उनले भनिन् । 

किसानले दुध, उखु, धानलगायत उत्पादनको मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि खाडी मुलुक जान बाध्य रहेको उनको भनाइ थियो । 

‘मकवानपुरका दुध उत्पादक किसानको  १४ करोडभन्दा बढीको भुक्तानी बाँकी छ। यो एउटा जिल्लाको मात्र होइन,  देशभरका उखु, दुध, धानलगायतका धेरै उत्पादक किसाहरूको साझा नियति हो,’ अधिकारीले भनिन्, ‘जब एउटा किसानले आफ्नो पसिनाको मूल्य महिनौँ/वर्षौँ कुर्नुपर्छ । उसले गाई–भैँसीको दाना र छोराछोरीको स्कुलको फी कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान् युवाहरू  आफ्नो उर्वर भूमिलाई बाँझो छोडेर खाडीको मरुभूमिमा जान बाध्य छन् । किसानको खल्ती रित्तो बनाएर  देशमा समृद्धि कदापि ल्याउन सकिँदैन ।’

मुलुकमा खाद्यान्न मात्र नभई, खाद्य आत्मनिर्भरता चाहिएकोमा उनले जोड दिइन् ।

सुझावित समाचार