विद्यार्थी कम भएका सामुदायिक विद्यालयको व्यवस्थापन कसरी गर्दा ठिक होला ?
त्यस्ता विद्यालयको व्यवस्थापन सजिलो छ । मुख्य प्रश्न भनेको गर्ने कि नगर्ने भन्ने मात्र हो । यसका लागि सरकारले केही निर्णय गर्नुपर्छ । कक्षैपिच्छे शिक्षक दिन सकिन्छ सकिन्न ? विषयैपिच्छे शिक्षक दिन सकिन्छ कि सकिन्न ? विद्यार्थी संख्या हेरेर पो शिक्षक दिने हो कि ? शिक्षक दिन सकिने अवस्था छैन भने त्यहाँका विद्यार्थीलाई जहाँ पढाइ हुन्छ, त्यहाँ नेटबाट जोड्न पनि सकिन्छ । माथिल्लो कक्षाका विद्यार्थीले तलका कक्षाका विद्यार्थीलाई पढाउने र भएका सीमित शिक्षकले माथिल्लो कक्षका विद्यार्थीलाई सहजीकरण गर्ने व्यवस्था गर्न सकिन्छ । कक्षापिच्छे या विषयपिच्छे शिक्षक दिने भन्यो भने सरकार अप्ठ्यारोमा पर्छ । कतिपय क्षेत्रको सामुदायिक विद्यालयमा निजी विद्यालयको भन्दा पनि प्रतिविद्यार्थी लगानी चर्को पर्न थालेको छ । यस्तोमा विद्यार्थी घरघरमै बस्ने र शिक्षक विद्यार्थी भएको ठाउँमा जाने चीनको जस्तो व्यवस्था पनि मिलाउन सकिन्छ ।
हाम्रो जस्तो छरिएका ग्रामीण बस्तीका विद्यालयलाई एक–आपसमा गाभ्न कति सम्भव होला ?
त्यति धेरै कठिन हुँदैन । विद्यार्थीलाई नेटमा या शिक्षकसितको भेटमा पढाउने व्यवस्था गर्न सकिन्छ । विद्यार्थीलाई मोटर चढाएर नजिकको विद्यालयमा लान पनि सकिन्छ । खाली भएका विद्यालयलाई फुटसल, पुस्तकालय, संग्रहालय आदि बनाउन सकिन्छ । सिप सिकाउने केन्द्र या ग्रामीण कृषि उपजको भण्डारस्थल आदिमा रूपान्तरण पनि गर्न सकिन्छ । वृद्धवृद्धाको भेटघाट गर्ने, दुःखसुख साटासाट गर्ने स्थल बनाउन पनि सकिन्छ ।
विद्यालय गाभ्नु नै सामुदायिक विद्यालय सुधार गर्ने अचुक उपाय हो त ?
विद्यार्थी संख्या निकै न्यून भएको अवस्थामा विद्यालय गाभ्नु नै ठिक हो । तर, यसका लागि माथिबाट निर्णय लाद्ने बाटो हिँडियो भने कठिन छ । यसका लागि सरकारले स्थानीय सरकार र त्यहाँका राजनीतिक दलसित संवाद गर्ने हो भने उपाय उनीहरूबाटै आउँछ ।