सीमागाउँमा चीन र भारतको सहयोग

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल–चीन सीमा भोटेकोशी गाउँपालिका– १ को लिस्ती, छगाम र बगाम घुम्नैपर्ने ठाउँ हुन् । किनकि, प्राकृतिक सौन्दर्य, धार्मिक र पर्यटनको कारण यहाँ देशभरका मानिस त आउँछन् नै, हाम्रो मित्रराष्ट्र चीन र भारतको पनि नजर पर्ने गरेको छ। गाउँ पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत नेपाल सरकारले मुलुकका दश पर्यटन क्षेत्रमध्ये बगामलाई समेटेको छ ।

तिब्बती शरणार्थी आनीको गुम्बा भएकोले छगाम उत्तिकै चर्चा र आकर्षणमा छ । पाँच सय वर्ष पुरानो लिस्तीघ्याङ पाओगुम्बा र लिस्तीमाई मन्दिरको आस्थाले देशभरका हिन्दु र बौद्ध धर्मावलम्बी लिस्तीकोट गाउँ आइपुग्छन् । सरकारी बिदाका दिनहरूमा यहाँ आन्तरिक पर्यटकको भिड लाग्छ ।  प्रकृति, धर्म र पर्यटन मात्रै होइन, आजभाेलि छिमेकी राष्ट्रको उठबसले यो क्षेत्र चर्चामा छ । भूकम्पपछि भत्किएको पाओगुम्बा निर्माणमा भारत सरकारले  नाै करोड ८३ लाख सहयोग गरेको छ । वडाभरका बौद्धमार्गी हरेक बिहान गुम्बा आउँछन् ।

निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ भारतीय दूतावासका मानिस वेलावेलामा हेर्न आइपुग्छन् । ‘पाओगुम्बा हाम्रो पुरातात्त्विक आस्थाको केन्द्र भएकोले यसको पुनर्निर्माणमा सहयोग गर्ने भारत सरकारलाई धन्यवाद दिन्छु,’ स्थानीय दोर्जे लामा ( हाउडे) ले भने। गुम्बामुनि छेउको लिस्ती टोलमा चिनियाँ सहयोगमा एउटा भव्य विद्यालय ठडिएको छ । ४५ करोड लगानीमा चीनले दुईवटा सुविधासम्पन्न विद्यालय भवन र शैक्षिक  सामग्री उपलब्ध गराएको छ । निर्माण सम्पन्न भएको उग्रचण्डी माविमा चिनियाँहरू आइरहन्छन् । विद्यालयको आँगनमा भेटिएका रेलवे फर्स्ट ग्रुप कम्पनीका म्यानेजर लिउ चाओले चीनको सीमामा रहेको नेपाली बस्तीमा विद्यालय निर्माण गर्दा सन्तुष्टि प्राप्त भएको बताए । ‘छिमेकी देशलाई सहयोग गर्नु साझा भविष्य बनाउनु हो,’ उनले भने ।

उग्रचण्डी विद्यालयको ५० मिटर तल भारत सरकारको सहयोगमा लिस्तीकोट स्वास्थ्य चौकी भवन निर्माण भएको छ। दुई करोड लागतमा उक्त भवन तयार पारिएको हो । नेपाल– चीन सीमामा चिनियाँ उपस्थिति स्वभाविक मानिएपनि मित्रराष्ट्र भारतको सहयोगबारे धेरै स्थानीयलाई थाहा छैन । तर, नेपालको तातोपानी र रसुवागढी भएर तिब्बतको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीसँगको सम्बन्धले सीमाको गाउँमा सहयोग प्राप्त हुने गरेको हो ।

भारतीय तीर्थयात्रीको व्यवस्थापन लिस्ती र तातोपानीका पर्यटन व्यवसायीले गर्दै आएका छन् । ‘हाम्रो गाउँमा दुवै मित्रराष्ट्रले गरेको सहयोगप्रति धन्यवाद दिन्छु,’ भोटेकोशी– १ का वडाध्यक्ष राजु लामाले भने। दुवै राष्ट्रसँग लिस्तीका स्थानीय जोडिने माध्यम भनेको व्यापार र धार्मिक गतिविधि हो । चीनसँग  सिमाना र व्यापारको सम्बन्ध छ भने भारतसँग धार्मिक र पर्यटनको सम्बन्ध छ ।

भारत, चीन र अन्य मुलुकले पनि लिस्ती, छगाम र बगाममा सहयोगी हात बढाएको वडाध्यक्ष लामाले बताए ।  धर्म, पर्यटन मात्रै होइन, शिक्षा र स्वास्थ्यमा पनि दाताको सहयोग जुटाउने नीति वडाले लिएको उनले प्रस्ट्याए। स्थानीय छगाममा रहेको दुई सय आनी घर र सेन्डे रिम्पोछे गुम्बाको कारण पनि भारतीय सहयोग जुट्ने गरेको छ। भारत सरकारले छगाममाथि बगाममा दुई करोड ३५ लाख लागतमा लामा घर निर्माण गरिदिएको छ।

सो घरमा भैरवकुण्ड जाने पर्यटक आराम गर्छन् । बगामको उच्च भूगोलबाट राजधानी काठमाडौं, चीनको खासा र न्यालमसमेत देखिन्छ। आजभाेलि डाक्लाङ, काङ्लाङ, छ्याङ्सिङ, लिस्ती, छगाम र बगाम हुँदै चीनको सीमामा रहेको भैरवकुण्ड भ्रमणमा भारतीय र चिनियाँ पर्यटक आउन थालेका छन्। 

सुझावित समाचार