- भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी)लाई संशोधन गर्दै नेपाली चियामाथिको कडाइलाई बनायो खुकुलो
भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ । मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो । यसअघि भारतले १ मेदेखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको थियो ।
जसका कारण नेपाली चिया उद्योगीले निर्यात गर्दा झन्झट भोग्नुपरेको थियो । भारतको टी बोर्डले १ मेदेखि लागू हुने गरी नेपाली चिया बोकेको प्रत्येक गाडीको नमुना परीक्षण गर्ने जनाएको थियो । भारतले चिया बोर्ड निर्देशिका देखाउँदै नेपाली चियालाई अवरोध खडा गरेको थियो ।
प्रशिक्षणको रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने गरेको थियो । जसका कारण पछिल्लो १९ दिनमा गएको दुई गाडी पनि नेपाली चिया भारतीय गोदाममा थन्किएका छन् । जुन चियाको ल्याब परीक्षणको रिपोर्ट हालसम्म नआएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्यराज पराजुलीले बताए ।
तर, १९ मेमा जारी भएको सूचनाले नेपाली चियालाई राहत भएको उनको भनाइ छ । ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी)लाई संशोधन गर्दै नेपाली चियामाथिको कडाइ खुकुलो बनाएको हो ।
मे १ यता प्रत्येक गाडीको परीक्षण गर्ने भनिएता पनि अब एसओपी संशोधन गरेपछि ‘र्यान्डम’ नमुना संकलन गरेर परीक्षण गर्ने गरी नयाँ नियम ल्याएको पराजुलीले बताए । ‘अब एउटा कम्पनीको २० गाडीबराबर एउटाको परीक्षण हुन्छ,’ उनले भने, ‘जसले तीन महिना काम गर्छ । तीन महिना परीक्षण गर्नुपर्दैन ।’
एसओपी संशोधनमा नेपाली चियालाई भारतको घरेलु खपतका रूपमा लिइएको छ । जसले गर्दा निर्यातमा सहजता ल्याएको हो । अब नेपाली चियाले दीर्घकालीन समाधान खोजेको चिया उत्पादनक संघका अध्यक्ष पराजुलीले बताए ।
‘तत्काललाई चियाको समस्या समाधान भएको छ । तर, यो अल्पकालीन हो कि दीर्घकालीन हो टुंगो छैन । केही समयमा फेरि यस्तो समस्या आउनुभएन,’ उनले भने, ‘नेपाली चियाले दीर्घकालीन समाधान खोजेको छ । यसपटक कूटनीतिक पहल पनि भएकाले फेरि समस्या आउँदैन भन्ने लागेको छ । हामीले सरकारी तबरसम्म पनि दबाब दिएका छौँ । यसपटक भने अब समस्या नहुने आश्वासन पाएका छौँ ।’ विगतमा पनि भारतले वेला–वेलामा नेपाली चियामाथि अवरोध खडा गर्दै आउने गरेको थियो ।
नेपाली चियाको मुख्य बजार भारत हो । नेपालमा उत्पादन हुने सिटिसी र अर्थोडक्स चियाले बर्सेनि करिब पाँच अर्बको विदेशी मुद्रा भिœयाउँदै आएको छ । नेपालबाट निर्यात हुने चियामध्ये करिब ९५ प्रतिशत चिया पूर्वीनाका काँकडभिट्टाबाट निर्यात हुँदै आएको छ ।