भीमफेदीमा भ्यान दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरिखेत मोडस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बुधबार साँझ भ्यान दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १३७१ नम्बरको इलेक्ट्रिक भ्यान तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बायाँपट्टिको भित्तामा ठोक्किएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

दुर्घटनामा चालकसहित गाडीमा सवार ८ मध्ये ६ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित नेसनल अस्पताल कलंकी पठाइएको छ।
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–१, लालझाडी बस्ने ३९ वर्षीय चालक पूर्णबहादुर रुम्बाको छातीमा चोट लागेको छ।

त्यसैगरी, तनहुँ बन्दीपुर नगरपालिका–९ बस्ने ३८ वर्षीय मनोज गुरुङको दाहिने खुट्टामा र उनकी श्रीमती २८ वर्षीया उषा गुरुङको निधारमा चोट लागेको प्रहरीले जनाएको छ।

यस्तै, धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–४ बस्ने ४१ वर्षीय विकास झाको दाहिने हातमा चोट लागेको छ। भारत बिहार राज्य सीतामढी जिल्ला मेजरगन्ज–९ बस्ने ३४ वर्षीय सोनु रौनिहारको छातीमा चोट लागेको छ भने उनकी श्रीमती २७ वर्षीया संगिता रौनिहारको शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडक अवरुद्ध नभएको र प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको नेतृत्वमा ट्राफिकसहितको घटनास्थल पुगेको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार