हास्य सिरिज ‘फुर्के नम्बर १’ नयाँ स्वरूपमा फेरि सुरु भएको छ। विल्सनविक्रम राईको लेखन तथा निर्देशन रहेको सिरिज प्रत्येक मंगलबार युट्युब च्यानल ‘तक्मे बुढा डटकम’मार्फत दर्शकमाझ प्रदर्शन भइरहेको छ।
यस हप्ता प्रदर्शन हुने नयाँ एपिसोड विगतको भन्दा थप परिष्कृत र मनोरञ्जनात्मक हुने निर्माण पक्षले जनाएको छ। यस एपिसोडमा नेपाल र भारतका लोकप्रिय रैथाने कमेडियनहरूलाई एउटै पर्दामा समेटिएको छ।
दार्जिलिङबाट चर्चा कमाएका ‘राइजिङ ब्वाइज’का अमित सुब्बा (भक्ते) र स्टार सपन कन्टेन्ट क्रिएटर सपन सुब्बाको टोली (सुकरानी सुब्बा र ब्रेजा चाम्लिङ) यस शृंखलाका मुख्य आकर्षण हुन्। साथै, सिक्किमका बहुप्रतिभाशाली क्यारिकेचर आर्टिष्ट सुरज र भ्लगर प्रवीण गुरुङको समेत यसमा अभिनय रहनेछ।
नेपालका स्थापित कलाकारहरू कविता आले, बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, उदय सुब्बासहित प्राविधिक टोलीमा विक्रम डिसी (छायांकन), रवीन्द्र खड्का (सम्पादन) र निपेश राई (सहनिर्देशन) रहेका छन्।
सिरियलको यो नयाँ प्रयोगले दर्शकलाई नयाँ स्वाद दिनेमा निर्मात्री सरिना लामा (राई), डिबी राई र निर्माण युनिट पूर्ण रूपमा विश्वस्त देखिएको छ।