राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले नेपाल प्रहरी र सशस्त्र प्रहरीको १६ वर्षे सेवाअवधिको मागमा राज्यको कान वर्षौँदेखि बिरामी भएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रसाईंले जनतालाई जोखिमपूर्ण स्थितिमा पनि २४ घण्टा सुरक्षा दिने सुरक्षाकर्मी कहिलेसम्म असुरक्षित हुने ? भनेर प्रश्न गरे ।
उनीहरूले २४ घण्टा लेफ्टराइट गर्दा पनि तलबले प्रहरीको परिवार पाल्न नसक्ने स्थितिप्रति सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘१५ वर्षसम्म एउटा जवानको प्रमोसन नहुँदा ऊ डिप्रेसनमा जाँदैन ? उनीहरूले केही मागेका छैनन्, बरु पेन्सन २० वर्षमा देऊ, तर १६ वर्ष घर फर्काऊ भनेका छन् यसमा सरकारको ध्यान किन गएन ?’
उनले राष्ट्रसेवक मान्छेलाई पनि उत्प्रेरणा चाहिने भन्दै सदनमार्फत गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका हुन्।