मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महताको परिवारलाई आर्थिक सहयोग

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिम कैलाली सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा मृतक प्रशिक्षार्थी एक सशस्त्र प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सशस्त्र प्रहरी बल जवान आधारभूत शिक्षालय बनबेहडामा तालिमरत प्रशिक्षार्थी मृतक सशस्त्र प्रहरी जवान महेशसि‌ंह महताको परिवारलाई आर्थिक सहयोग गरिएको हो । 

सशस्त्र प्रहरी जवानको तालिम गरिरहेका नौगाड गाउँपालिका– १, दार्चुलाका स्थानीयसमेत रहेका सशस्त्र प्रहरी प्रशिक्षार्थी जवान महताको २१ वैशाख ०८३ मा निधन भएको थियो । 

तालिमकै दौरानमा टाउको दुखेर ज्वरो आएको अवस्थामा उपचारकै क्रममा निधन भएका महताको परिवारलाई सशस्त्र प्रहरी बल नेपाल जवान प्रशिक्षालयमा कार्यरत अधिकृत एवं कर्मचारीले स्वच्छाले एक–आपसमै रकम संकलन गरेर मृतक परिवारलाई दिएको जनाएका छन्। 

सहकर्मीको सम्झनादेखि मातहतका कर्मचारीको स्मृतिमा शोकाकुल भएका घरपरिवारलाई केही राहत दिने उद्देश्यले तालिम केन्द्रमा कार्यरत अधिकृत एवं कर्मचारीहरूले खाजा खर्च कटाएर संकलन गरेको चार लाख १२ हजार ७४० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । 

मृतक महताको १५औँ दिनको पुण्यतिथिको अवसरमा मंगलबार तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसबी) सूर्यबहादुर सेन ओलीले मृतक जवानका ठुलाबाबु धनसिंह महतालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

तालिम केन्द्र प्रमुख सेन ओलीसहितका अधिकृत, सशस्त्र प्रहरीका कर्मचारी, तालिमरत सहकर्मीहरूले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल महताको परिवारप्रति हार्दिक समवेदनसमेत प्रकट गरेका छन् । समवेदनापत्रसहित मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महताप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो । 

सुझावित समाचार