नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले पार्टी पुनर्निर्माणमा जुट्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले जस्तोसुकै कठिनाइकाे सामना गर्ने हिम्मतका साथ काम गर्दा नै सुखद परिणाम प्राप्त गर्न सकिने उल्लेख गरेका छन् ।
जोखिम उठाउने साहस गरेर नै असल काममा प्रवृत्त हुने भन्दै उनले यस्तै दृढ भावना बोकेर खडा गरिएको जनताको पार्टी नेपाली कांग्रेसले त्यागको सन्देश दिएको उल्लेख गरेका छन् । पछिल्लो समयमा पवित्र र कल्याणकारी सोचमा धेरै हदसम्म गिरावट आएको उनको ठहर छ ।
‘जसरी समय–समयमा नउध्याउने हो भने खुकुरी भुत्ते हुन्छ, उसको धारिलोपन नष्ट हुन्छ र आफ्नो काम गर्न सक्दैन त्यसरी नै जुन वास्तविक कारणका साथ खडा भएको पार्टी वा संस्था पनि शिथिल हुन्छ र काम गर्न सक्दैन,’ उनले लेखेका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सन्दर्भमा यसको वास्तविक उद्देश्यका निम्ति कठोरतापूर्वक संघर्ष गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । टालटुले र देखावटी रूप परिवर्तनले अब चल्नेवाला छैन । देखिने गरी नै कठोर त्याग र समर्पण प्रकट गर्नुपर्नेछ ।’