ढकिया थारू समुदायको कला, संस्कृति र पहिचानको प्रतीक हो । पछिल्लो समय ढकिया बनाउने कला पुस्तान्तरण नहुँदा यो हराउँदै जान थालेको छ । विज्ञान र प्रविधिको बढ्दो प्रयोगले हाम्रो समाजबाट परम्परागत ज्ञान र सिपहरू क्रमशः लोपोन्मुख अवस्थामा पुगेका छन् । परम्परागत ज्ञान, सिप र कलालाई जगेर्ना गरी एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु अति आवश्यक रहेको छ। त्यही आवश्यकतालाई मध्यनजर गर्दै मधुवन नगरपालिका– १, बडकी टडुवाकी सुमित्रा चौधरी व्यावसायिक रूपमा ढकिया बनाउन लागेकी छिन्।
सुमित्राले केही समयअघि मात्र ढकिया बनाउने तालिम लिएकी थिइन् । त्यसपछि अहिले नियमित रूपमा ढकिया बनाउँदै आइरहेकी छिन् । ढकिया थारू समुदायको पहिचान र संस्कृतिसँग पनि जोडिएको सुमित्राले बताइन् । ‘मैले पनि धेरैपछि मात्र ढकिया बनाउन सिकेँ । यद्यपि, प्रत्येक थारू घरमा ढकिया पाइन्छ,’ उनले भनिन्, ‘थारू समुदायका महिलाहरूले पहिलादेखि नै घरायसी प्रयोजनका लागि खेतबारी, वन, नदीतटीय क्षेत्रमा पाइने काँस र खरबाट थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी लगायतका अन्य सामग्री बनाउँदै आएका थिए ।’
थारू समुदायको घरमा अहिले पनि ढकिया पाइने भए तापनि पहिलाजस्तो ढकिया बनाउन सक्ने कला भएका दिदीबहिनी पाउन मुस्किल भएको सुमित्राले जानकारी दिइन् । ‘गाउँमा कोही–कोहीले मात्र ढकिया बनाउने कला जानेका छन् ।अहिलेको पुस्तालाई झन् यो कलामा रुचि पनि छैन र सिक्ने जाँगर पनि देखाउँदैनन्,’ उनले भनिन्, ‘केही समयअघि मधुवनको डल्लामा आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रले ढकिया बनाउने तालिम सञ्चालन गरेको थियो । त्यस तालिममा सहभागी भएर मैले पनि ढकिया, कलमदानीलगायतको धेरै हस्तकलाको सामग्री बनाउन सिकेँ । त्यसपछि मैले ढकिया बनाएर दुई हजार पाँच सयदेखि ६ हजार रुपैयाँसम्ममा बेचेकी छु ।’
सुमित्राजस्तै मधुवन नगरपालिका– १, बडकी टडुवाकी सीतारानी थारूले पनि अहिले निरन्तर रूपमा ढकिया बनाउने काम गर्दै आएकी छिन् । उनले व्यावसायिक रूपमा ढकिया बिक्री–वितरण नगरेको भए तापनि आफन्त र घरमा आउने पाहुनालाई ढकिया उपहार दिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘अहिले पनि घरमा ढकिया बनाएर राखेकी छु । तर, बिक्री–वितरण गरेको छैन । निकुञ्ज र डल्ला घुम्न आउने स्वदेशी र विदेशी पर्यटकले ढकिया खोज्ने गरेका छन् । ढकियाकाे माग बढ्दो छ । अब मैले पनि व्यावसायिक रूपमा ढकिया बनाएर बेच्ने सोच बनाएकी छु ।’
बिहेमा अनिवार्य चाहिने ढकिया थारू समुदायका महिलाहरूले दैनिक रूपमा प्रयोग गर्ने गरेका छन् । यसरी थारू समुदायले विगतदेखि बनाउँदै र प्रयोग गर्दै आएको ढकियालगायतमा अन्य सामग्री जगेर्ना अति आवश्यक रहेको छ । थारू समुदायबाहेक सरकारले पनि थारू समुदायको परम्परागत ज्ञान र सिपको संरक्षणको लागि लाग्नुपर्छ ।
सरकारले परम्परागत सिप र ज्ञानलाई पुस्तान्तरण विशेष नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको छ । थारू समुदायले निर्माण गर्ने हस्तकलाको सामग्री बनाउन छेडना, कैँची, फिता काँच, खर भए पुग्छ । स्थानीयस्तरमा पाइने कच्चापदार्थबाट डाइनिङ टेबलमा राख्ने थाल चकटी, रोटी राख्ने हटकेस, कलमदानी, ढकिया, फूलदानी, फुटबास्केट सामग्री राख्ने सामग्री बनाउन सकिन्छ । विश्वबजारमा पनि हस्तकलाको सामग्रीको माग रहेको हुँदा सरकारले यसको बजारीकरणका लागि समेत लगानी र प्रचारप्रसार गर्न आवश्यक रहेको छ ।