फेरिँदै राजनीतिको परिभाषा

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण
  • ममदानी, बालेन र थलापतिको चुनावी अभियानले अबका दिनमा राजनीतिको परिभाषा फेरिने संकेत देखाएको छ

परिवर्तन प्रकृतिको रीत हो । सामाजिक चेतनाले मानिसलाई प्रकृतिभन्दा पनि पर गएर परिवर्तनको चाहचेतमा पुर्याउँछ । राजनीति अपेक्षाको व्यापार हो । मानवीय अपेक्षाले राजनीतिलाई परिवर्तनको सीमापर पुग भन्छ । जसले नागरिक अपेक्षाको संकेत टिपे, ती राजनीतिमा टिके, संकेत ठम्याउन र टिप्न जो पछि परे, ती राजनीतिबाट पनि पछि परे । समयको गतिमा गतावधिक भए ।

राजनीतिलाई दार्शनिक प्लेटोले मानवीय सद्गुण र सामाजिक न्याय प्राप्त गर्ने कला भनेका थिए । उनले कल्पना गरेको दार्शनिक राजा (नेता) आदर्श थियो । झन्डै २५ सय वर्षपछि राजनीति र राजनेताका आधारभूत मूल्य नफेरिए पनि अपेक्षा र तिनलाई पूरा गर्ने शैलीस्वरूप फेरिएको छ । शासकीय संस्थाहरूमा विश्वास बढाउनुपर्ने चुनौती बेस्सरी थपिएको छ । नेतृत्व आदर्श भएन भने संस्था विश्वासिला बन्दैनन्, शासन सेवामा पुग्दैन । तर, मेकियावेली राजनीति आदर्शले होइन, वास्तविकताले चल्छ भन्छन् । लक्ष्य हुनुपर्छ र त्यसलाई प्राप्त गर्न राज्य सबल हुनुपर्छ भन्नेमा दुवै दार्शनिक एकमतमा छन् ।

परम्परागत राजनीति शक्ति र कानुनको खेल हो । नागरिकहरू निर्वाचनको दिन मतदान गर्छन्, सक्रिय मताधिकार गर्ने अवस्थमा पुग्दैनन् । अझ कतिपय त बाध्यात्मक विकल्पमा मत दिन्छन् । प्रतिनिधित्व गर्ने र गरिने विषयमा फासला हुन्छ । निर्वाचक–निर्वाचित सम्बन्ध दाताग्राहीको जस्तो देखिन्छ । परिवार, विरासत, शक्तिसोपानबाट प्रभावित राजनीतिको यो सामान्य चरित्र हो । निर्वाचक निर्वाचनको दिनमा मात्र सार्वभौम बन्ने प्रवृत्तिले लोकतन्त्रका लाभ जनतासामु कहिल्यै पुगेनन् । उम्मेदवारले आशा र अपेक्षाको व्यापार गर्नु र सर्वसाधारण प्रतीक्षामा रहनुको विकल्प थिएन । नेतृत्व गताविधक तर नागरिक चेतना उपल्लो भएपछि राजनीति उही रूपमा रहने भएन । राजनीति जनस्तरमा नओर्लिए लोकतन्त्रको के अर्थ ? ममदानी, बालेन र थलापतिको चुनावी अभियानले अबका दिनमा राजनीतिको परिभाषा फेरिने संकेत देखाएको छ । राजनीति जहिले पनि नवीन विषय हो र सर्वसाधारणका विषय जहिले पनि बाँकी हुन्छन् भन्ने देखिन थालेको छ । 

गत वर्ष न्युयोर्कका मेयर उम्मेदवार जोहरान ममदानी चुनावी अभियानमा ‘भविष्य हाम्रै हातमा छ’ भन्दै निर्वाचनका मुद्दा र निर्वाचन अभियानमा नितान्त बेग्लै ढंगबाट प्रस्तुत भए । त्यो सर्वसाधारणको मन जित्ने रणनीति थियो । केही वर्षअघि एन्ड्र्यु योङले युवा र मध्यम वर्गको आवश्यकता पूरा गर्न आधारभूत आयसमेत व्यवस्था गर्ने रणनीतिसाथ राष्ट्रपतिको उम्मेदवारी दिए पनि प्राइमरीमाथि पुग्न सकेनन् । परिमार्जित रणनीतिमा राजनीति विरासतबाट होइन, जीविकाको सवालबाट हुन्छ भन्ने मान्यतासाथ ममदानीले चुनावी अभियान सुरु गरे । उनले नयाँ मुद्दा र नयाँ पहिचानका लागि नयाँ नेतृत्व र नयाँ शैली चाहिन्छ भन्ने साबित गरिदिए । विश्व पुँजीवादको राजधानीको मेयरमा एसियाली मूलका मुस्लिम उम्मेदवारले जित्न सजिलो थिएन । आप्रवासी संघर्ष, दैनिकीका समस्या र कठिन जीवनप्रणालीलाई उनले बुझेका थिए । यो बुझाइ बनाउन आमाको फिल्मी व्यक्तित्व, बुबाको बौद्धिकता, श्रीमतीको कलाकारिता र आफ्नै र्यापर ‘कार्डोमम’ र लेखकीय व्यक्तित्वले सघाएको थियो । राजनीति विरासत र शास्त्रीयताबाट हुँदैन भन्ने साबित गरेका ममदानी सेलिब्रेटी विरासतबाट भने मुक्त थिएनन् । आमा मीरा नायर मिसिसिपी मसला, मनसुन मेरिज र कामसूत्रजस्ता चर्चित चलचित्रकी निर्मात्री थिइन् । ‘एउटा यस्तो दिन, जुन इतिहासमा विरलै आउँछ, जब हामी पुरानोबाट नयाँमा पाइला हाल्छौँ, एउटा युग समाप्त हुन्छ र लामो समयदेखि दबिएको राष्ट्रको आत्माले बोली पाउँछ’ भन्ने जवाहरलाल नेहरूको शताब्दीअघिको बोलीलाई ममदानीले ३३ वर्षे युवावस्थामै व्यवहारमा उतारिदिए । उनले भने ‘म केही बन्छु भनेर चुनावमा आइनँ, केही गर्छु भनेर आएँ’ जनताले पत्याए, हुन्छ भनिदिए ।

राजनीतिक सामाजिक बेथितिविरुद्ध अभिनायक बनेका विजय थलापति २०२१ बाट सुरु भएको उनको ‘फ्यान क्लब’ बिएमआई (विजय मक्कल एक्कम)को तामिल पहिचानको अभियान २०२६ मा आइपुग्दा टिसिभीके (तामिलगा भेट्री कजगम) बन्यो र अभिनयमा सामाजिक न्यायको मुद्दा उठाउँदै वास्तविक जीवनमा पनि त्यही विषयको नेतृत्वमा पुगे थलापति । फिल्मका ‘ब्लकबस्टर’ अभिनेता राजनीतिको पहिलो प्रदर्शनमै ‘ब्लकबस्टर’ बने ।

थलापतिको चुनावले राजनीतिमा केही नयाँ कुराको संकेत गर्छ । जनभावना जित्न चुनावी रणनीति चाहिन्छ भनी उनले रणनीतिकार प्रशान्त किशोरलाई उपयोग गरेका थिए । प्रशान्त तिनै थिए, जो आफैँ भने चुनावमा असफल रहे, तर २०१४ मा मोदी र २०२१ मा ममता बनर्जीलाई जिताउने अभियानका रणनीतिकार थिए उनी । कुनै रणनीतिकारको कारणले मात्र चुनाव जितिने होइन, तर सामाजिक मुद्दालाई चुनावी कलेवर दिई मतदाताको भावनामा लपेट्न भने खास रणनीति चाहिन्छ भन्ने देखिएको छ । यसले शास्त्रीय राजनीतिको संस्थापनलाई तिमीहरू गतावधिक भयौँ भन्ने सन्देश दिएको छ । थलापतिले आफ्ना दर्शकलाई आफ्नै मतदाता बनाए । प्रदर्शन हुन लागेको चलचित्र जननायगनलाई सरकारले प्रतिबन्ध लगाएपछि थलापतिको राजनीतिक स्केल ह्वात्तै बढ्यो, प्रतिपक्षी नेता राहुल गान्धीले सामाजिक सञ्जालमार्फत यसको पक्षमा गरिएको प्रतिक्रिया पनि त्यसको एउटा कारण थियो । चुनाव चिह्न सिट्ठी, प्रचारमा सामान्य पहिरन, फिल्मी शैलीको डबल बडी उपयोग र फ्यान ग्रुपको सामाजिक सञ्जाल परिचालन सबै चुनावी रणनीतिका नवप्रयोग थिए । चुनावी अभियान आफैँमा सामाजिक आन्दोलन बन्यो, उनको उम्मेदवारी धेरै युवाको मतदानको कारण बन्यो । यसअघिका एमजी रामचन्द्रनन र जयललिता पनि आफ्नो अवधिमा प्रिय नै थिए, तर उनीहरूले उठाएका चुनावी मुद्दा र शैली थोत्रा भइसकेका थिए । राजनीतिमा ताजा सुरुवातको खास अर्थ हुन्छ भन्ने मज्जाले पुष्टि भयो ।

रंग र कला क्षेत्रका सेलिब्रेटीहरू राजनीतिमा तहल्कासाथ प्रवेश भएका कैयन उदाहरण भए पनि दुवैतिर ‘ब्लकबस्टर’ भएका उदाहरण थोरै छन् । पप संस्कृतिका आइकन विख्यात लेखक विन्स्टन चर्चिल दुवैतिर सफल मानिन्छन् । उनी विश्वकै प्रभावशाली प्रधानमन्त्री बने । उनी नोवेल पुरस्कारविजेता साहित्यकार पनि हुन् । अमेरिकाका ४०औँ राष्ट्रपति रोनाल्ड रेगन हलिउडका चर्चित अभिनेता थिए । उनले राजनीतिमा पनि ‘रेगन एरा’ स्थापित गरे, उनको विचार ‘रेगनोमिक्स’ बन्यो । इन्स्टाग्राम युगका पहिलो प्रधानमन्त्री जस्टिन ट्रुडो क्यानडाका सेलिब्रेटी पहिचानमा थिए । बबी वाइनबाट परिचित युगान्डाका पपस्टार क्यागुलानी सेन्टामु प्रधानमन्त्री बने । क्रुज गायक मेडिया टाइकुन सिल्भिओ बुर्लोन्स्की इटालीमा तीनपटक प्रधानमन्त्री बने । क्रिकेट स्टार इमरान खानले पाकिस्तानी अधिनायकीलाई जेलबाटै हल्लाइदिए । टेलिभिजनमा राष्ट्रपतिको अभिनय गर्ने भोलोदिमिर जेलेन्स्की युक्रेनका वास्तविक राष्ट्रपति बने, अपरिपक्व तर साहसी कामले अहिले पनि सर्वाधिक चर्चामा छन् उनी । भिडलाई सधैँ भोटमा बदल्न सकिन्छ भन्ने पनि होइन, दर्शक कमाएर मत नकमाएका उदाहरण शिवाजी गणेशन हुन् । सधैँ दर्शकको मन जित्नेले राजनीतिक ‘प्लेटफार्म’ जित्छन् भन्ने पनि होइन, बलिउड महानायक अमिताभ बच्चन चुनाव जितेर पनि राजनीति हारे, बुझे राजीनामा दिए । सेलिब्रेटीको अनुहार निश्चित अवधिसम्म मात्र चम्किलो हुन्छ, जसले दृष्टिकोण, सामाजिक मुद्दा र कलाकारिता एकसाथ संयोजन गर्न सके ती भने कलामा जसरी नै राजनीतिका पनि ‘सुपरस्टार’ बने, फिल्मजस्तै राजनीतिक अभियान पनि ब्लकबस्टर बन्यो । पछिल्ला समयमा प्रतिरोधी स्वरका छवि बनाएकाहरूले पर्दामा जस्तै वास्तविकतामा पनि समाज बोक्न सक्छन् भन्ने स्थापित हुँदै छ । इतिहास बनाउनेहरू इतिहास दोहोर्याउँदैनन्, तोडेर ताजा सुरुवात गर्छन् भन्ने देखिएको छ । ममदानी, बालेन र थलापतिको साझापन यही हो ।

ममदानीले विरासत विषयान्तर मध्यमवर्गीय युवाको दैनिकीका स्वरहरू उठाए । न्युयोर्कलाई मध्यमवर्ग बस्नसक्ने सहर बनाउने दृष्टिकोण राखे । ‘ट्रिस्ट टु डेस्टिनी’को शताब्दीपछिको रूप किनाराकृत स्वरबाट राष्ट्रको आत्मा बन्यो । बालेनको र्यापले बेथितिविरुद्धको आक्रमण बोल्यो, तर त्यसको विस्तृति चुनावी अभियानमा देखियो । राजनीतिमा नयाँ मुद्दा जहिले पनि छन् र तिनलाई उठाएर जनतासामु पुर्याएर विश्वास जित्न बाँकी छ भन्ने थलापति सामाजिकताको पहिचान स्थापित गर्ने अभियानमा देखिए । ममदानी, बालेन र थलापतिले प्रतिरोधी स्वरलाई एकट्ठा गरेका हुन् । ‘लाइमलाइट’को छविले प्रतिरोधी स्वर उठाउन बेस्सरी सघायो । निजत्वको आनन्द, सामाजिकता र भावनाको संयोजनले सर्वसाधारणले विश्वास गरे । अझै नदेखिएको कुरा के हो भने राजनीति जनस्तरमा पुगेको छैन । हिजोका ‘नेपोबेबी’हरू तथा सम्भ्रान्तहरूकै पकडमा राजनीति जाने प्रवृत्ति देखिएको छ । सर्बसाधारण तहबाट आफ्ना आवाज उठाउन पनि अर्को वर्गको सहारा कहिलेसम्म लिनुपर्ने हो ?

सर्वसाधारणको मन जित्दैमा राजनीतिमै आउनुपर्छ भन्ने पनि होइन । यस्ता कैयौँ उदाहरण छन् जसको कर्म नै अभियान बनेको छ, जसले पेसाको अर्थ र आयतन बढाएका छन्, तर राजनीतिको विभाजनमा भन्दा सम्पूर्णताको परिचायक बने र राजनीति बदल्न सबैको सिम्बोल बने । गत साल अस्ताएका आसामी अभियन्ता जुबिन गर्ग सबै आसामी र उल्फा विद्रोहीको समेत साझा स्वर थिए । विचारक, स्रष्टा, कलाकार, खेलाडी, कन्टेन्ट निर्माता, आविष्कारक, व्यवसायी, कृषक, प्रशासक र उद्यमीहरू आ–आफ्ना कर्मबाट जनभावनालाई राजकीय प्रक्रियामा जोडिरहेका छन् । उनीहरूको अभियानले राजनीतिको परिभाषा र स्वरूप फेरिँदै गएको छ ।

राजनीति र परिभाषाहरू परिवर्तनको चाहचेतका साथ गतिशील प्रवेगमा रहन्छन् । भाषा, संस्कृति, कला, विद्वत्ताले सामाजिक संकेत टिप्न जसरी सघाउँछन्, नतिजामा पुर्याउन त्यसरी नै सक्दैनन् । त्यसका लागि सचेत कार्य चाहिन्छ । प्रचारमुखी काम होइन, काम सिर्जना गर्ने काम चाहिन्छ । नयाँका नाममा संस्था र स्वाभिमानका मूल्य भत्किएलान् कि भन्ने भय छ, परिपक्वता चाहिन्छ । अनि मात्र उनीहरूलाई हेर्न आएको दर्शकको भिड र तालीको गडगडाहटले स्थायित्व पाउँछ, त्यो पनि निरन्तर प्रवर्तनकारितासाथ काम गरेपछि मात्र ।

(मैनाली नेपाल सरकारका फूर्वसचिव हुन्)
 

सुझावित समाचार