नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘नुमाफुङ’ प्रदर्शन भएको २५ वर्ष पूरा भएको छ। नुमाफुङ त्यस्तो एउटा चलचित्र बन्यो, जसले नेपाली सिनेमाको नयाँ धारा, नयाँ शैली, नयाँ प्रस्तुति र नयाँ इतिहासको आरम्भ गर्याे।
नेपाली समाज, संस्कृति र सीमान्तकृत समुदायका कथा–व्यथालाई मूलधारको सिनेमामा स्थापित गरेको नेपाली चलचित्रका रूपमा ‘नुमाफुङ’लाई स्मरण गरिन्छ।
२५ वर्षपछि पनि यो चलचित्रले दर्शकको मनमा जीवित प्रभाव छाडिरहेको छ। चलचित्रले नेपाली मौलिक कथा प्रस्तुत गर्दै आदिवासी तथा सीमान्तकृत समुदायका जीवन र आवाजलाई पर्दामा ल्याएर नेपाली सिनेमामा नयाँ ढोका खोलेको थियो।
‘नुमाफुङ’ले नेपाली कथालाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुर्याउँदै विश्वमञ्चमा पनि स्थान बनाउन सफल भएको थियो। जसका कारण नेपाली सिनेमाको इतिहासमा नुमाफुङ एउटा कोसेढुंगाको रूपमा लिइन्छ। यस चलचित्रले दर्शकहरूमा आफ्नो पहिचान, संस्कृति र यथार्थप्रति गर्वको भावना जगाएको बताइएको छ।
‘नुमाफुङ’ प्रदर्शन भएको २५ वर्ष पूरा भएको अवसरमा निर्माण कम्पनी मेन्छ्यायेम पिक्चर्सले पनि चलचित्रको विरासत स्मरण गरेको छ। चलचित्रको २५औँ वर्षगाँठका अवसरमा निर्माण टिमले कलाकार तथा प्राविधिकहरूप्रति आभार व्यक्त गर्दै दर्शकहरूले नै यसको विरासतलाई जीवित राखेको उल्लेख गरेको छ।