‘काजी’को प्रेमको चर्चा हुनेछ : विपिन कार्की

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको वेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।

 विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।

उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौँ । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्यो ।’

विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठुला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ। उनले श्रीमान–श्रीमतीबिचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताए।

उनले भने, ‘साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुसीमा आफ्नो खुसी खोज्ने, एक–अर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ।’

उनका अनुसार चलचित्रले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यावहारिक जीवनका साना–साना पक्षमा खोजेको छ। ‘ठुला–ठुला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सूक्ष्म ढंगले देखाएको छ,’ उनले भने, ‘मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले ‘काजी–कजिनीको प्रेम पो प्रेम’ भन्नुहुनेछ।’ विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाए ।

सुझावित समाचार