वनका प्रतिनिधिलाई मौसम तथा जलवायु सूचना सेवा प्रणालीबारे अभिमुखीकरण तालिम

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

बर्दियाको राजापुर नगरपालिकामा सरोकारवाला निकायलाई मौसम तथा जलवायु सूचना सेवा प्रणालीबारे अभिमुखीकरण तालिम दिइएको छ । राजापुर, मधुवन र ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई मौसम तथा जलवायु सूचना सेवा प्रणालीबारे अभिमुखीकरण तालिम दिइएको हो ।  

अभिमुखीकरण तालिमले स्थानीय समुदायमा सचेतनाको अभिवृद्धि गरी प्राकृतिक विपतबाट जोगाउन र समुदायलाई सुसूचित गर्नका लागि मौसम तथा जलवायु सूचना सेवा प्रणालीबारे जानकारी गराउन खोजिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखाका अध्यक्ष गोपाल चौधरीले बताए ।

उनले भने, ‘सामुदायिक वनआसपासमा बस्ने उपभोक्तालाई मौसम परिवर्तनसम्बन्धी जानकारी हुन सक्यो भने बर्सेनि हुने अन्नबाली र पशुचौपायालाई सुरक्षित राखेर थप धनजनको क्षति हुनबाट जोगाउन पनि यो अभिमुखीकरण तालिम गरिएको हो ।’ सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मोहम्मद कर खाँले मौसम तथा जलवायु परिवर्तनले गर्दा खडेरी पर्ने, बाढी, डुबान, पहिरो, डढेलो, शीतलहर, तातो हावाजस्तो जोखिम बढ्दै गएको छ ।

उनले यसले पार्ने असरबारे समुदायलाई सचेत बनाउँदै मौसम तथा जलवायु सूचना प्रणालीबारे गाउँघरमा सूचना पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘गाउँघरमा सूचनाको पहुँच समान ढंगले नहुने हुँदा सही सूचनाको पहिचान गर्ने र प्राप्त सूचना सही हो कि होइन भनेर जाँच्न र सही सूचना भएमा कसरी सुरक्षित रहने उपायबारे छलफल गरी व्यवहार परिवर्तन गराउन पनि तालिम दिइएको हो ।’ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखाका कोषाध्यक्ष रामेश्वर रिमालले सामुदायिक वन उपभोक्ता समितिका एक सयजना प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको बताए ।

उनले भने, ‘तालिममा सहभागी हुने भएका व्यक्तिले  पनि गाउँमा गएर एक सयजनालाई मौसम तथा जलवायु सूचना सेवा प्रणालीबारे अभिमुखीकरण तालिम दिने गरी कार्यक्रम तयार गरिएको छ । यसरी तालिम सञ्चालन गर्दा समूहको माध्यमबाट समुदायसम्म सत्य सूचना प्रवाह होस् भन्ने हो ।’

सुझावित समाचार