बर्दियाका आदिवासी जनजातिको सांस्कृतिक अनुगमन तथा मूल्यांकनको बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ । आदिवासी जनजातिको सांस्कृतिक अनुगमन तथा मूल्यांकनको बारेमा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति , बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जनजातिको प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायसँग छलफल गरिएको हो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष हेमन्त आचार्यले जनजातिले प्रयोग गर्ने कतिपय सामाग्री बनाउन वनजंगल निर्भर रहदै आएको बताए । उनले भने, दुना टपरी देखि ढकीया लगायतको सामाग्री बनाउन कच्चापदार्थ लिन वनमा निर्भर रहनुपर्ने बाध्यता छ । तर कानुनी जटिलताले गर्दा सहज रुपमा कच्चापदार्थ लिन समस्या छ ।
कम्तिमा पनि सरकारले बनाउने कानुनी स्थानीयमैत्री भएमा आदिवासी जनजाति लगायत सहज हुने थियो । पनि परम्परागत ज्ञान र सिपलाई उत्पादन र व्यवसायसँग जोड्ने वातावरण तयार हुने थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले स्थानीयहरूको सहयोगले गर्दा नै निकुञ्ज यहाँसम्म आइपुगेको बताए । उनले भने, निकुञ्जको कार्यालय पनि आदिवासी जनजातीको संस्कृति कला संरक्षण गरि त्यसको व्यापक प्रचारप्रसार होस भन्ने चाहान्छ । त्यसका आदिवासी जनजाति र यहाँको स्थानीयसँग निकुञ्ज सहकार्य गरेर अगाडी बढ्न तयार रहेको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाइने वन्यजन्तु र जैविक विविधताको संरक्षणमा गर्न चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान लागेको छ । त्यो अभियानमा पनि जनजातीको सहभागिता उल्लेख रुपमा रहेको निकुञ्जका वरिष्ठ संरक्षणअधिकृत डाक्टर रामले जानकारी दिए ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका महासचिव नवराज लामाले पछिल्लो समय आदिवासी जनजातिले परम्परागत रुपमा प्रयोग गर्दै आएको ज्ञान सीप हराउदै गएपछि त्यसको संरक्षणको लागि विगत चार वर्षदेखि काम गर्दै आएको बताए । उनले भने, केही समय अगाडी मधुवन र ठाकुरबाबा नगरपालिकामा रहेका थारू समुदायका महिलाहरूलाई ढकीया चकटी बनाउने तालिम थियो । यसको उदेश्य भनेको परम्परागत ज्ञान र सीपको प्रचारप्रसार, व्यवसायीकरण र एक पुस्ताबाटअर्को पुस्तालाई ज्ञान र सीप हस्तान्तरण गर्नु पनि हो ।
आदिवासी जनजातीको हराउँदै गएको परम्परागत ज्ञान र सीपलाई एक पुस्तादेखि अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि विभिन्न यस्ता तालिम सेमिनार गोष्ठी अन्तरक्रिया गर्दै आएको आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका कार्यक्रम संयोजक विश्वास चेपाङले बताए।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रका फोकल पर्सन परशुराम चौधरीले जनजातिको कला संस्कृति जल ,वनसँग जोडिएको हुँदा स्थानीयले प्रयोग गर्ने स्रोत साधन सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने वातावरण तयार हुनुपर्ने बताए । उनले भने, नयाँ पुस्तालाई पनि पुर्खाहरूले प्रयोग गर्दै आएको ज्ञान र सीप सिकाएर आत्मनिर्भर बन्न र सिकाइ आदानप्रदान गर्न आवश्यक रहेको छ ।