स्पिनरद्वय सन्दीप लामिछाने र ललित राजवंशी तथा ब्याटर रोहितकुमार पौडेल र ईशान पाण्डे चम्किएपछि नेपालले आइसिसी विश्वकप लिग– २ मा स्कटल्यान्डमाथि ६ विकेटको जित निकालेको छ।
सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ३९.१ ओभरमा सबै विकेट गुमाएर १९५ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले ३८.१ ओभरमा चार विकेट गुमाउँदै जित निकाल्यो ।
नेपालको जितमा ब्याटर ईशान पाण्डे र कप्तान रोहितले अर्धशतक बनाए। बलिङमा ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट हात पारे।
ईशानको दोस्रो खेलमै अर्धशतक
डा. ईशान पाण्डेले अर्धशतक बनाएपछि नेपालले शृंखलामा लगातार सानदार जित निकाल्यो। दोस्रो खेलमा नेपालले अमेरिकालाई नाै विकेटले हराएको हो।
ईशान र कप्तान रोहितकुमार पौडेलबिच तेस्रो विकेटका लागि सतकीय साझेदारी भयो। दुई खेलाडीले १३६ बलमा १०४ रन बनाए। रोहितले ९८ बलमा पाँच चौका र दुई छक्कासहित अविजित सर्वाधिक ७४ रन बनाए । यसअघि रोहितले ७६ बलमा ५० रन बनाए । उनले अर्धशतक बनाउँदा दुई चौका र एक छक्का प्रहार गरेका हुन्।
५५ बलमा ६१ रन बनाएका ईशानलाई मार्क वाटले आउट गरेका थिए । उनले पाँच चौका र दुई छक्का हिर्काए । यसअघि उनले ५३ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन बनाएका थिए । २८ वर्षीय बायाँहाते ब्याटरले अघिल्लो खेलमा अमेरिकाविरुद्ध टिममा डेब्यु गरेका थिए। जुन खेलमा उनी २० रनमा अविजित रहे।
यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटको लागि ५८ रनको साझेदारी गरेका थिए । कुशल २७ बलमा २८ रन तथा आसिफ शेख २९ बनाएर रनआउट भए। दीपेन्द्रसिंह ऐरीले मात्र दुई रन बनाए । आरिफ शेख २३ बलमा आठ रन बनाएर अविजित रहे ।
सन्दीपको कीर्तिमान
यही खेलबाट लेग स्पिनर सन्दीपले विश्वकीर्तिमान बनाए। सन्दीपले अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कको सात वर्ष पुरानो सबैभन्दा कम खेलमा १५० विकेट पूराको कीर्तिमान तोडेका छन्।
सन्दीपले ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान बनाएका हुन् । स्कटल्यान्डसँग अहिले भइरहेको खेलमा ब्रान्डन म्याकमुलनको विकेट लिएसँगै उनले ओडिआई करिअरमा आफ्नो १५० विकेट पूरा गरेका हुन्।
सन्दीपले खेलमा कुल तीन विकेट लिएका थिए । स्कटल्यान्डविरुद्ध ललित राजवंशीले चार विकेट लिए । उनले आठ ओभरमा ३२ रन दिएका थिए । यस्तै, नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।
म्याकमुलन र इङ्लिसको अर्धशतक
स्कटल्यान्डका इनिङ्समा ब्रान्डन म्याकमुलन र माइकल इङ्लिसले अर्धशतक बनाए । म्याकमुलनले ४४ बलमा ६ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७३ रन बनाए । उनले ओपनर जर्ज मुन्सेसँग ४९ रनको साझेदारी गरे । मुन्से ३१ बलमा २१ रनमा आउट भए । माइकल इङ्लिस ७२ बलमा ५१ रन बनाएर आउट भए । उनले चार चौका र एक छक्का हिर्काए । मार्क वाट ३४ बलमा २० रनमा आउट भए ।
अब, नेपालले शुक्रबार अमेरिकासँग अन्तिम खेल खेल्नेछ।