धनकुटाको चौबिसे गाउँपालिका– ४, डिहीटारस्थित निर्माणाधीन तमोर करिडोर सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
सुनसरीको इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३९४९ नम्बरको टाटा विंगर अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको सुन्दरहरैँचा नगरपालिका– ६ निवासी ४० वर्षीया सवित्रा ढुंगेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा परी पाँचथरको फाल्गुनन्द गाउँपालिका– १ निवासी २८ वर्षीय चालक तेजकुमार चेम्जोङ र ताप्लेजुङको फुङलिङ नगरपालिका– ८ का २२ वर्षीय दीपेन रसाइली गम्भीर घाइते भएका छन् । दुवैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
कुखुराको चल्ला बोकेको उक्त गाडी दुर्घटनामा पर्दा गाडीमा रहेका करिब दुई हजार पाँच सय चल्लामध्ये केही मरेर नष्ट भएको पनि प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि मृतक ढुंगेललाई गाडीले च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।