अन्डाको मूल्य सात दिन नबित्दै फेरि बढेको छ। उत्पादन लागत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी अन्डाको नयाँ मूल्य निर्धारण गरेको हो।
संघका अनुसार अन्डाको मूल्य क्रेटमै ५० रुपैयाँसम्म बढाइएको छ। नयाँ मूल्यअनुसार अब उपभोक्ताले प्रतिगोटा अन्डाका लागि २५ रुपैयाँ तिर्नुपर्नेछ।
संघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार एक्स एल अन्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँ बढेर ५३० रुपैयाँ पुगेको छ। यस्तै, ठुलो अन्डा पनि ३० रुपैयाँले बढेर प्रतिक्रेट ५१५ रुपैयाँ कायम भएको छ।
मिडियम अन्डामा सबैभन्दा धेरै वृद्धि गरिएको छ। यसको मूल्य प्रतिक्रेट ५० रुपैयाँ बढेर ४८५ रुपैयाँ पुगेको छ। सानो अन्डाको मूल्य भने प्रतिक्रेट ३८५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि एक्स एल अन्डा प्रतिक्रेट ५०० रुपैयाँ, ठुलो अन्डा ४८५ रुपैयाँ, मिडियम अन्डा ४३५ रुपैयाँ तथा सानो अन्डा ३६० रुपैयाँमा बिक्री हुँदै आएको थियो। पछिल्ला दुई सातामै अन्डाको मूल्य ८५ रुपैयाँसम्म बढेको छ।
संघले उत्पादन लागत बढ्दै गएको, उत्पादन घटेको तथा ढुवानी, प्याकेजिङलगायत खर्च महँगिएको कारण मूल्य बढाउनुपरेको जनाएको छ। हाल नेपालमा दैनिक ३५ लाख गोटाभन्दा कम अन्डा उत्पादन भइरहेको बताइएको छ।