नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा प्रमुख दलहरूबिच संयुक्त सरकार बन्न सक्ने संकेत गरेका छन्। उनले प्रदेश सरकारलाई नयाँपन दिन कांग्रेस, एमाले, नेकपा र मधेशकेन्द्रित दलहरू मिलेर साझा सरकार गठनको सम्भावना रहेको बताएका हुन्।
प्रेस सेन्टर सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले साझा सरकार बने लोकतन्त्र, गणतन्त्र, शान्ति सम्झौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिएको सन्देश जाने बताए।
‘साझा सरकार बनाउँदा लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति सम्झाैता र संविधान सभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिएको सन्देश पनि जान्छ,’ उनले भने, ‘यसले जनतालाई पनि राहत हुन्छ, सरकार पनि राम्रो चल्छ।’
उनका अनुसार सर्वदलीय सरकार गठनका लागि पहल भइरहेको छ। उनले एमाले र कांग्रेसले छुट्टाछुट्टै रूपमा सरकार गठनका प्रस्तावहरू अघि बढाइरहेको दाबी गर्दै आफ्नो दल त्यस्तो खेलमा नरहेको स्पष्ट पारे।
‘यो वा त्यससँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौँ, सर्वदलीय सरकारको पहल गरिरहेका छौँ,’ उनले भने। प्रचण्डले कम्युनिस्ट पार्टीहरूबिच ध्रुवीकरणको छलफल पनि जारी रहेको बताए। उनले पछिल्ला निर्वाचनपछि वामपन्थी आन्दोलन कमजोर बनेको उल्लेख गर्दै सहकार्य र एकताका लागि सबै कम्युनिस्ट पार्टीहरूसँग संवाद भइरहेको जानकारी दिए।