एमालेले केन्द्रीय सचिवालयको बैठक दुई दिन पर सारेको छ । शनिबार बोलाएको बैठक महासचिव शंकर पोखरेलको अस्वस्थता र कतिपय नेता आइतबार मदन–आश्रित स्मृति दिवसको सिलसिलामा विभिन्न जिल्ला जाने कार्यक्रम रहेकाले दुई दिन पर सारिएको एमालेले जनाएको छ ।
‘पदाधिकारी तहकै कतिपय नेताहरू स्मृति दिवसको सिलसिलामा उपत्यकाबाहिर जानुपरेकाले बैठक सारिएको हो, अरू कारण होइन,’ केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले भने । महासचिव पोखरेल पनि अस्वस्थताका कारण निवासमै आराम गर्नुपरेका कारण पनि बैठक सारिएको एमाले नेताहरूको भनाइ छ । तर, २१ फागुनको चुनावयता अध्यक्ष केपी ओलीको उपस्थितिमा चुनावी समीक्षासमेत नभएको र यसबिचमै उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल ओलीको सम्मानजनक बहिर्गमनका पक्षमा उभिएका कारण पनि आन्तरिक समीकरणलाई लक्षित गरेर पनि बैठक सारिएको हुन सक्ने कतिपय नेताहरूको आशंका छ । सारिएको बैठकमा के–के एजेन्डा हुने विषयमा नेताहरूलाई औपचारिक जानकारी गराइएको छैन ।
११औँ महाधिवेशनसँगै विधानले सिधै अध्यक्षले नै बैठकमा प्रस्ताव राख्ने अधिकार दिएकाले कुन–कुन एजेन्डामा छलफल हुँदै छ भन्ने कुरामा पदाधिकारी तहकै नेताहरू स्पष्ट जानकार छैनन् । केन्द्रीय कार्यालय सचिव अधिकारीले चुनावअघि सीमित नेताहरूको मात्र अस्थायी कार्यविभाजन भएका कारण पार्टीलाई नियमित शैलीबाट अघि बढाउन नयाँ कार्यविभाजनमाथि केन्द्रित रहेर छलफल हुने सम्भावना रहेको बताए । ‘चुनावी समीक्षा पनि हुन्छ, तर त्योभन्दा पनि अपरिहार्य अहिलेका लागि कार्यविभाजन नै हो, सम्भवतः अध्यक्षले पनि महासचिवसँगको समन्वयमा त्यही नै गृहकार्य गरिरहनुभएको होला,’ उनले भने ।
पार्टीभित्र इतरपक्ष भने पार्टी पुनर्गठनको एजेन्डालाई कमजोर पार्न पनि अध्यक्ष ओलीले कार्यविभाजनको एजेन्डालाई प्राथमिकता दिएको बुझाइमा छ । ‘अबको बैठकमा नेताहरूले आफूलाई लागेका कुरा खुलस्त ढंगले नै राख्नुहोला, त्यसले पार्टीलाई नयाँ ढंगले अगाडि कसरी लैजान सकिन्छ भन्ने दृष्टिकोण तय गर्न मद्दत पनि पुग्छ,’ नेता कर्ण थापाले भने, ‘अब अध्यक्षसामु पनि धेरै विकल्प छैन, पार्टीलाई झन् कमजोर बनाउनेभन्दा पुनर्गठनको दिशामा लैजानका लागि उहाँले पनि अब नयाँ तरिकाले सोच्नु नै पार्टी र देशको हित हुन्छ ।’
ओलीको स्वास्थ्य सुधारोन्मुख भए पनि पूर्ण स्वस्थ नभइसकेकाले बैठक गुन्डुमै बस्नेछ । एमालेले चुनावमा व्यहोरेको अकल्पनीय क्षतिको नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि ढोका खुलाउनुपर्ने इतरपक्षले आवाज उठाउँदै आएको छ । तर, सचिवालय र केन्द्रीय समितिमा कमजोर अवस्थाका कारण पछिल्ला दिनमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरूसँग मिलेर पुनर्गठनको एजेन्डालाई जोडदार उठाउने इतरपक्षको नीति छ ।