महालेखा परीक्षक कार्यालयले लेखा परीक्षण गर्दागर्दै १४ अर्ब ६३ करोड रुपैयाँ असुल गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा लेखा परीक्षणबाट औँल्याइएका बेरुजुका सम्बन्धमा प्रमाण पेस गरी वा नियमित गरी–गराई वा असुलउपर गरी फर्स्योट गर्नुपर्ने व्यवस्था छ ।
यसरी बेरुजु फर्स्योट भएपछि महालेखा परीक्षक कार्यालयबाट सम्परीक्षण गराउनुपर्छ । ‘यस वर्षको लेखा परीक्षणका क्रममा प्रारम्भिक प्रतिवेदन पठाएपछि तथा विगतको बेरुजु सम्परीक्षण गर्दा १४ अर्ब ६३ करोड २६ लाख ९९ हजार असुल भएको छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ, ‘सोमध्ये लेखा परीक्षणका क्रममा ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि ९० करोड ४८ लाख र सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख असुल भएको छ।