प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी राष्ट्रसेवक कर्मचारीलाई भय, त्रास र दबाब सिर्जना गर्ने उद्देश्यले अश्लील तथा अमर्यादित भाषा प्रयोग गर्दै धम्की दिएका थिए। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
यसअघि उक्त घटनामा संलग्न व्यक्तिमाथि कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत निर्देशन दिएको थियो। वडासचिव भण्डारीलाई धम्की दिएको अडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले व्यापक चासो पाएको थियो।