प्रेस चौतारी नेपालले विशेष महाधिवेशन गर्ने, अध्यक्ष पाण्डेलाई मार्गप्रशस्त गर्न निर्देशन

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

प्रेस चौतारी नेपालले विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा बसेको सचिवालय बैठकले संगठनका अध्यक्ष गणेश पाण्डेलाई पदबाट मार्गप्रशस्त गर्न निर्देशन दिएको छ।

पार्टी नेतृत्वको निर्देशनअनुसार शनिबारका लागि तय गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक भने स्थगित गरिएको छ। एक सचिवालय सदस्यका अनुसार संगठनभित्र देखिएको असहज परिस्थितिलाई समाधान गर्दै संगठनलाई पुनः स्फूर्त र चलायमान बनाउन विशेष महाधिवेशन आवश्यक ठहर गरिएको हो।

‘आमा’ लक्षित विवादास्पद तथा आपत्तिजनक अडियो प्रकरणपछि अध्यक्ष पाण्डेको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो। बैठकमा सहभागी अधिकांश पदाधिकारीले पाण्डेलाई पद छोडेर संगठनलाई निकास दिनुपर्ने धारणा राखेका थिए।

बैठकमा सहभागी पदाधिकारी र प्रदेश इञ्चार्जहरूले अध्यक्ष पाण्डेको नेतृत्वमा बैठक बस्न अस्वीकार गरेका थिए । तर, पाण्डेले आफ्नै अध्यक्षतामा बैठक सञ्चालन गर्नुपर्ने अडान लिएपछि केही समय छलफल प्रभावित भएको थियो।

पछि उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पाण्डेले आफ्नो पक्षमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि बहुमत पदाधिकारीले उनलाई पदबाट मार्गप्रशस्त गरी संगठनको साख जोगाउन आग्रह गरेको प्रेस चौतारीले जनाएको छ।

महाधिवेशनको मिति, स्थान तथा नेतृत्व संरचनाबारे पार्टी नेतृत्वसँग समन्वय गरेर निर्णय गरिने संगठनले जनाएको छ। पार्टीले प्रेस चौतारी नेपालका लागि नयाँ इञ्चार्ज तोक्ने तयारी गरिरहेकाले त्यसपछि मात्र आगामी बैठक र प्रक्रियाहरू अघि बढाइने बताइएको छ। यसैबीच, शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक पनि पार्टीको निर्देशनअनुसार स्थगित गरिएको छ।

सुझावित समाचार