सुदूरपश्चिम चिनाउने अभियानको टोली रामारोशनमा

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अभियानको टोली अछामस्थित सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रामारोशन पुगेको छ । १२ बन्ड, १८ खण्डको नामले परिचित रामारोशन ताल र फाँटहरू भएको रमणीय पर्यटकीय स्थल हो । अछामको रामारोशन गाउँपालिकामा पर्ने रामारोशन क्षेत्रमा पहाडको फेदीमा १२ वटा बन्ड अर्थात् ताल र १८ खण्ड अर्थात् प्राकृतिक फाँट छन् । 

टोलीको नेतृत्व गरेका धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि आफूहरू यहाँ आएको बताए । उनले पहिले प्रदेश अनि देश घुम्नुपर्ने बताए।

टोली हिजो अछामकै पञ्चदेवल विनायक नगरपालिकास्थित ऐतिहासिक पञ्चदेवल पुगेको थियो। विक्रम संवत् १३३७ मा तत्कालीन राजा अक्षय मल्लले निर्माण गरेको पाँचवटा देवल र यसमा लेखिएको शिलालेख नेपालकै पुरानो शिलालेखमध्ये पर्छ।

सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरले हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ अभियान सुरु गरेको हो । अभियानअन्तर्गत धनगढीका जनप्रतिनिधि, पर्यटन व्यवसायीलगायतको टोली हालै यहाँको हिमाली पदयात्राको प्रमुख पर्यटकीय गन्तव्य अपि हिमाल पुगेको थियो । 

टोली अहिले पञ्चदेवल, रामारोशन र साइपाल बेसक्याम्पसम्मको यात्रामा छ । सुदूरपश्चिममा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न धनगढी उपमहानगरले यो अभियान सुरु गरेको नगर प्रमुख हमालले बताए।

सुझावित समाचार