धादिङमा ५१ किलो अफिम र तीनवटा भरुवा बन्दुक बरामद

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठुलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका– २, होवाङबाट ५१ किलो १८० ग्राम शुद्ध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठुलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।

प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमान्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो । खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा चार फिट ६ इन्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो । त्यसैगरी, तामाङ सुत्ने कोठाको ओछ्याननजिकै पाँचवटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिमजस्तो देखिने कालो लेदो पदार्थ फेला परेको प्रहरी नायब उपरीक्षक दाहालले बताए । 

पक्राउ परेका तामाङ यसअघि पनि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् । बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ । थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ । 

प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि आ–आफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ । दुवैजनालाई आ–आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

सुझावित समाचार