चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बालबालिका गम्भीर बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका– १, कुलबाङ, हात्तीबाङकी नाै वर्षीया नमुना चेपाङको मृत्यु भएको हो । उनी नमुना राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङमा कक्षा दुईमा अध्ययनरत थिइन् ।
सोही परिवारका १३ वर्षीया मनिता चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ गम्भीर बिरामी अवस्थामा भरतपुर अस्पतालमा उपचाररत छन् । अस्पतालका अनुसार मनिताको अवस्था चिन्ताजनक रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने सञ्जयको अवस्था मध्यम रहेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार स्थानीय श्यामबहादुर चेपाङ र पदममाया चेपाङसहित पाँचजनाको परिवारले गत मंगलबार साँझ आफ्नै घरमा जंगलबाट ल्याएको जंगली च्याउ पकाएर खाएका थिए ।
च्याउ खाएपछि बालबालिकाको स्वास्थ्यमा समस्या देखिए पनि उनीहरू घरमै बसेका थिए । शुक्रबार बिहान अवस्था गम्भीर बनेपछि स्थानीयले काउले स्वास्थ्य चौकीमा पुर्याएका थिए । त्यहाँ सामान्य उपचारपछि उनीहरूलाई भरतपुर अस्पताल रेफर गरिएको थियो ।
भरतपुर अस्पताल ल्याइएकी नमुनालाई चिकित्सकले दिउँसो करिब २ः३० बजे मृत घोषणा गरेका थिए । स्थानीय राष्ट्रिय मावि हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार तीनैजना बालबालिका एउटै विद्यालयमा अध्ययनरत थिए ।
प्रहरीका अनुसार बालबालिकाका बुबाआमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।