नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्क्याउने प्रकाश पाठक जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उनलाई शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
फिलिपिन्स बस्ने पाठकले अधिकारीको निर्देशनमा एक्सट्रिमिस्ट ग्रुप खडा गरी राजीनामाको अल्टिमेटम दिँदै अख्तियार प्रमुखलाई हत्याको धम्की दिएका थिए। अधिकारीको भ्रष्टाचार मुद्दाको अनुसन्धान प्रभावित पार्ने उद्देश्यले यसरी धम्क्याएको खुलेको छ। त्यसबापत पाठकले अधिकारीसँग दुई करोड रुपैयाँ लिएका थिए।
२८ माघमा प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको थियो। उनीविरुद्ध आपराधिक षड्यन्त्र, आपराधिक लाभ, हुन्डी, विद्युतीय कारोबार र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । मुद्दा दायर भएकामध्ये अधिकारी कारागारमै छन् भने अर्का ताराप्रसाद खरेल भने फरार छन्।