चालू आवमा तीन खर्बको निर्यात लक्ष्य, चैतसम्म सवा दुई खर्ब निर्यात

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्ष ०८२/८३ मा कुल तीन खर्बबराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्म दुई खर्ब २२ अर्ब ९४ करोडको निर्यात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत मसान्तसम्मको कार्य प्रगति सार्वजनिक गर्दै लक्ष्यअनुसार निर्यातमा केही सुधार भएको जनाएको छ । तीन खर्बको लक्ष्य राखे पनि दुई खर्ब ७७ अर्बको निर्यातलाई मन्त्रालयले ‘बेसलाइन’ बनाएको छ ।

त्यस्तै, चालू आवमा १९ खर्बको आयात हुने प्रक्षेपण भएकोमा चैत मसान्तसम्म १४ खर्ब ९० अर्ब रुपैयाँको आयात भइसकेको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योग क्षेत्रको योगदान ५.१ प्रतिशत कायम गर्ने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ४.९८ प्रतिशत पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । रोजगारी सिर्जनामा भने अपेक्षित उपलब्धि हाँसिल भएको छैन । ठुला, मझौला, साना घरेलु एवं लघु उद्यमी सिर्जना कार्यक्रमबाट एक लाख ८० हजारलाई रोजगारी दिने लक्ष्य राखेकोमा चैत मसान्तसम्म ३३ प्रतिशत मात्रै उपलब्धि हाँसिल भएको छ ।

मन्त्रालयले माइलस्टोन उपलब्धितर्फ विश्व व्यापार संगठन र नेपालबिचको व्यापार नीतिबारे प्रतिवेदन तयार पारेको विषयलाई समेटेको छ । नेपालले तयार गरेको प्रतिवेदनमा संगठनका सदस्यहरूबाट करिब दुई सयवटा प्रश्न उठाइएको र ती प्रश्नको उत्तरसमेत तयार गरेर गत मंसिरमा आयोजित संगठनको समीक्षा बैठकमा पेस भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को १० वटा प्लटमा उद्योग राख्नका लागि अनुमति प्रदान गरिएको, स्टार्टअप उद्यम नीति तथा कार्यविधि स्वीकृत भएको र विराटनगर र भैरहवा नाकाबाट रेलमार्फत सबै किसिमका कार्गो ढुवानी गर्नका लागि नेपाल–भारत पारवहन सन्धि प्रोटोकल संशोधन भएको विषयलाई पनि माइलस्टोन उपलब्धिमा मन्त्रालयले राखेको छ । चैत मसान्तसम्म तीन लाख ७२ हजार दुई सय ३० वटा कम्पनी दर्ता र १२ हजार आठ सय ७१ कम्पनी खारेज भएको तथा २६ सय ५४ ट्रेडमार्क दर्ता तथा एक सय ८३ औद्योगिक बाद्धिक सम्पत्तिसम्बन्धी मुद्दा फैसला भएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा २५ हजार टन र सार्क खाद्य बैंकमा आठ हजार टन खाद्यान्न भण्डारण गरिएको, रुग्ण उद्योग सञ्चालनका बारेमा छलफल थालिएकोलगायतको उपलब्धि विवरणलाई मन्त्रालयले प्रतिवेदनमा समेटेको छ ।

मन्त्रालयका अनुसार चालू आवको चैत मसान्तसम्म सात सय ८१ उद्योग दर्ता भएका छन् । यसमध्ये सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै तीन सय ५९, पर्यटन मुलुक दुई सय ४२, कृषि तथा वन पैदावारमा आधारित १७, ऊर्जामूलक १५, उत्पादनमूलक ८४, खनिज ५ र सेवामूलक क्षेत्रमा ५९ वटा उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । यी उद्योगमा कुल एक खर्ब ३० अर्ब लगानी प्रस्ताव आएको छ ।

See More On

सुझावित समाचार