- खेलकुद राष्ट्र निर्माण, आर्थिक विकास, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय प्रभाव विस्तारको रणनीतिक माध्यम बन्न सक्नुपर्छ
राष्ट्र निर्माणको बहस प्रायः राजनीति, अर्थतन्त्र, शिक्षा, पूर्वाधार र सुशासनवरिपरि केन्द्रित हुने गरेको छ । तर, यिनै आधारसँग समानान्तर रूपमा गहिरो प्रभाव पार्ने क्षेत्र हो– खेलकुद । दुर्भाग्यवश नेपालमा खेलकुदलाई अझै पनि धेरै हदसम्म पदक, प्रतियोगिता र मनोरञ्जनको सीमित घेराभित्र हेर्ने प्रवृत्ति कायम छ । जब कि विश्वका विकसित र उदाउँदा राष्ट्रहरूले खेलकुदलाई राष्ट्र निर्माण, आर्थिक विकास, राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय प्रभाव विस्तारको रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेका छन् ।
खेलकुद केवल मैदानमा हुने प्रतिस्पर्धा मात्र होइन, यो अनुशासन, राष्ट्रिय गौरव, सामाजिक एकता, युवा सशक्तीकरण, आर्थिक सम्भावना र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने सशक्त माध्यम हो । आजको विश्वमा खेलकुदको महत्व केवल पदक संख्याले मात्र मापन हुँदैन । एउटा सशक्त खेल प्रणालीले राष्ट्रको चरित्र निर्माण गर्छ, नागरिकको आत्मविश्वास बढाउँछ, युवालाई अवसर दिन्छ र विश्वमञ्चमा देशको छवि निर्माण गर्छ । त्यसैले, खेलकुदलाई राष्ट्र निर्माणसँग जोडेर हेर्नु समयको माग मात्र होइन, राष्ट्रिय आवश्यकता पनि हो ।
स्वस्थ र सक्षम नागरिक निर्माणमा खेलकुद : राष्ट्र निर्माणको पहिलो आधार स्वस्थ र सक्षम नागरिक हो । स्वस्थ जनशक्तिविना उत्पादक अर्थतन्त्र र समुन्नत समाजको परिकल्पना गर्न सकिँदैन । यहीँ खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सुदृढता, आत्मअनुशासन, सहकार्य, नेतृत्व र जिम्मेवारीबोध पनि विकास गर्छ ।
आजको पुस्ता डिजिटल निर्भरता, निष्क्रिय जीवनशैली र मानसिक तनावका चुनौतीसँग जुधिरहेको छ । यस्तो अवस्थामा खेलकुद स्वस्थ जीवनशैलीको आधार बन्न सक्छ । विद्यालयदेखि समुदायसम्म खेल संस्कृतिको विकासले स्वस्थ समाज निर्माणमा दीर्घकालीन योगदान पुर्याउँछ । खेलकुदले युवालाई कुलत, हिंसा र सामाजिक विकृतिबाट टाढा राखेर सिर्जनात्मक र सकारात्मक बाटो दिन्छ । यो केवल खेलाडी उत्पादन गर्ने माध्यम मात्र होइन, जिम्मेवार नागरिक उत्पादन गर्ने प्रक्रिया पनि हो ।
युवा शक्ति परिचालनको प्रभावकारी माध्यम : नेपाल युवाको देश हो । तर, बेरोजगारी, पलायन, निराशा र अवसरको अभावका कारण युवाशक्तिको पूर्ण उपयोग हुन सकेको छैन । यस्तो अवस्थामा खेलकुद युवा ऊर्जा परिचालनको प्रभावकारी माध्यम बन्न सक्छ ।
खेलले प्रतिस्पर्धा सिकाउँछ, हारजित स्विकार्न सिकाउँछ, संघर्षको मूल्य बुझाउँछ । यी गुण राष्ट्र निर्माणका लागि आवश्यक नागरिक चरित्र निर्माणका आधार हुन् । यदि राज्यले विद्यालय, विश्वविद्यालय र समुदायस्तरमा खेललाई प्राथमिकतामा राख्ने हो भने खेलकुद युवालाई उत्पादक शक्ति बनाउने प्रभावकारी माध्यम बन्न सक्छ । खेलकुदलाई युवा नीति र विकास रणनीतिसँग जोड्नु आजको आवश्यकता हो ।
राष्ट्रिय एकता र सामाजिक सद्भाव : भाषा, संस्कृति, भूगोल र सामाजिक विविधता भएको देशमा एकताको आधार निर्माण गर्न खेलकुदले असाधारण भूमिका खेल्न सक्छ । खेल मैदानमा जात, वर्ग, धर्म र क्षेत्रको विभाजन हुँदैन, त्यहाँ राष्ट्रिय पहिचान अग्रभागमा हुन्छ ।
राष्ट्रिय टोलीको सफलतामा पूरै देश एउटै भावनामा जोडिन्छ । यही भावनात्मक एकता राष्ट्र निर्माणको महत्वपूर्ण आधार हो । खेलकुदले महिला, पिछडिएका समुदाय र ग्रामीण क्षेत्रका प्रतिभालाई अवसर दिएर सामाजिक समावेशीकरण पनि बलियो बनाउँछ । समावेशी राष्ट्र निर्माणका लागि यो अत्यन्त महत्वपूर्ण पक्ष हो ।
अन्तर्राष्ट्रिय पहिचान र ‘सफ्ट पावर’ : विश्वका धेरै राष्ट्रले खेलकुदमार्फत आफ्नो अन्तर्राष्ट्रिय पहिचान निर्माण गरेका छन् । कतिपय देशको विश्वव्यापी छवि खेल उपलब्धिबाट अझ बलियो बनेको छ । खेलकुद आज ‘सफ्ट पावर’को प्रभावकारी माध्यम बनेको छ । एउटा पदक, एउटा अन्तर्राष्ट्रिय सफलता वा एउटा ठुलो खेल प्रतियोगिताले कहिलेकाहीँ ठुलो कूटनीतिक प्रभाव सिर्जना गर्न सक्छ ।
नेपालजस्तो देशका लागि खेलकुद अन्तर्राष्ट्रिय पहिचान विस्तारको महत्वपूर्ण माध्यम बन्न सक्छ । सीमित स्रोतका बाबजुद नेपाली खेलाडीले अन्तर्राष्ट्रियस्तरमा देखाएको क्षमता ठुलो सम्भावनाको संकेत हो । समस्या प्रतिभाको अभाव होइन, समस्या प्रणाली निर्माणको हो ।
खेलकुद र अर्थतन्त्र, खर्च होइन लगानी : नेपालमा अझै पनि खेललाई खर्चको क्षेत्रका रूपमा हेरिन्छ । तर, विश्वले खेलकुदलाई ठुलो आर्थिक उद्योगका रूपमा स्थापित गरिसकेको छ । विश्वभर खेल उद्योग प्रतियोगिता, प्रसारण अधिकार, प्रायोजन, खेल पर्यटन, पूर्वाधार, खेल सामग्री उत्पादन, फिटनेस उद्योग, मिडिया र रोजगारीसँग जोडिएको बहुआयामिक आर्थिक क्षेत्र बनेको छ । विकसित देशमा खेल उद्योगले जिडिपीको एक प्रतिशतदेखि तीन प्रतिशतभन्दा बढी योगदान गर्ने अवस्था पुगेको छ ।
नेपालमा भने खेलकुद क्षेत्रको जिडिपी योगदानबारे स्पष्ट सरकारी तथ्यांक अझै सीमित छ । राष्ट्रिय तथ्यांक कार्यालय, अर्थ मन्त्रालय वा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदलाई छुट्टै आर्थिक क्षेत्रका रूपमा मापन गर्ने प्रणाली अझै पर्याप्त रूपमा विकास गर्न सकेका छैनन् । उपलब्ध अध्ययन र सेवा क्षेत्रसँग जोडिएका अन्तर्राष्ट्रिय अनुमानका आधारमा नेपालमा खेलकुदको प्रत्यक्ष आर्थिक योगदान करिब ०.५ प्रतिशतभन्दा कम रहेको अनुमान गरिन्छ ।
नेपालको सेवा क्षेत्रले कुल जिडिपीको करिब ६२–६३ प्रतिशत योगदान गरिरहेको छ, जसमा पर्यटन, मनोरञ्जन, फिटनेस, खेल पर्यटन, ट्रेकिङ, पर्वतारोहण र खेलसम्बन्धी सेवा गतिविधि पनि समावेश छन् । खेल पर्यटन, साहसिक खेल, खेल सामग्री व्यापार, प्रशिक्षण, फिटनेस उद्योग र इभेन्ट व्यवस्थापनलाई व्यवस्थित गर्न सके खेलकुद नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ ।
भारत, चीन र एसियाली अनुभव : भारतले खेलकुदलाई आर्थिक उद्योगमा रूपान्तरण गर्ने उल्लेखनीय उदाहरण प्रस्तुत गरेको छ । विशेषगरी, क्रिकेटको व्यवसायीकरण र आइपिएलजस्ता व्यावसायिक लिगले खेल उद्योगलाई अर्बौँ डलरको बजारमा परिणत गरेको छ । खेलकुदले भारतमा पर्यटन, विज्ञापन, मिडिया, रोजगारी र निजी लगानीलाई ठुलो गति दिएको छ ।
चीनले राष्ट्रिय खेल उद्योग नीति बनाएर खेललाई आर्थिक विकास रणनीतिसँग जोडेको छ । विशाल खेल पूर्वाधार, वैज्ञानिक प्रशिक्षण, खेल विज्ञान र व्यावसायिक व्यवस्थापनमार्फत चीनले खेलकुदलाई राष्ट्रिय शक्ति प्रदर्शनको माध्यम बनाएको छ । जापान र दक्षिण कोरियाले खेल, प्रविधि र पर्यटनलाई एकीकृत गरी खेल अर्थतन्त्रलाई बलियो बनाएका छन् । खेल प्रतियोगिताले पर्यटन गतिविधि बढाएको छ, प्रविधि उद्योगलाई विस्तार गरेको छ र अन्तर्राष्ट्रिय ब्रान्ड निर्माणमा योगदान पुर्याएको छ । नेपालले पनि यी अनुभवबाट सिक्न सक्छ । साहसिक खेल, हिमाली पर्यटन, अन्तर्राष्ट्रिय खेल प्रतियोगिता, व्यावसायिक लिग र निजी क्षेत्रको सहकार्यबाट खेलकुदलाई आर्थिक विकासको नयाँ आधार बनाउन सकिन्छ ।
शिक्षा र खेलकुदको सम्बन्ध : विकसित मुलुकले शिक्षा र खेललाई एकीकृत रूपमा अघि बढाएका छन् । विद्यालय खेल प्रणाली प्रतिभा उत्पादनको आधार बनेको छ । तर, नेपालमा अझै पनि खेललाई ‘अतिरिक्त गतिविधि’ जस्तो व्यवहार गरिन्छ । विद्यालय तहदेखि नै खेललाई शिक्षाको अभिन्न अंग बनाउनुपर्छ । खेलले सिकाउने अनुशासन, समय व्यवस्थापन, नेतृत्व र सहकार्य, यी सबै जीवन र राष्ट्र निर्माणका लागि उपयोगी सीप हुन् । शिक्षा र खेललाई सँगसँगै अघि बढाउन सके समग्र मानव विकास सम्भव हुन्छ ।
सम्भावना धेरै, प्रणाली कमजोर : नेपालमा प्रतिभाको अभाव छैन । समस्या प्रणालीगत छ । पूर्वाधार अभाव, दीर्घकालीन योजनाको कमी, सीमित बजेट, कमजोर व्यवस्थापन, खेल प्रशासनमा राजनीतिक प्रभाव, खेल विज्ञानको कमी र खेलाडीको सामाजिक सुरक्षाको अभावले खेल विकासलाई अवरुद्ध गरेका छन् ।
अझै पनि खेलकुद धेरै हदसम्म प्रतियोगिताकेन्द्रित छ, प्रणालीकेन्द्रित छैन । हामी पदक चाहन्छौँ, तर पदक उत्पादन गर्ने संरचनामा पर्याप्त लगानी गर्दैनौँ । खेलाडी उत्पादन संयोगले होइन, प्रणालीले गर्छ । यहीँनेर नेपालले सोच बदल्नुपर्छ ।
खेलकुद विकास नीतिको मूलधार : खेलकुदलाई ‘पूरक’ क्षेत्र होइन, विकास नीतिको मूल क्षेत्रका रूपमा हेर्नुपर्ने समय आएको छ । जसरी शिक्षा, स्वास्थ्य, कृषि वा पूर्वाधार राष्ट्रिय प्राथमिकता हुन्, खेलकुद पनि त्यही स्तरको प्राथमिकतामा आउनुपर्छ । दीर्घकालीन राष्ट्रिय खेल नीति परिणाममुखी हुनुपर्छ । स्थानीय तहदेखि राष्ट्रिय तहसम्म खेल संरचना बलियो बनाउनुपर्छ । संघीय संरचनाअनुसार खेल प्रणाली पुनर्संरचना आवश्यक छ ।
पूर्वाधार, प्रतिभा विकास र खेलाडीकेन्द्रित नीति : प्रत्येक प्रदेश, जिल्ला र स्थानीय तहमा खेल पूर्वाधार योजनाबद्ध रूपमा विकास हुनुपर्छ । खेल मैदान, प्रशिक्षण केन्द्र, खेल विज्ञान, खेल चिकित्सा र प्रतिभा पहिचान प्रणाली विकास गर्नुपर्छ । खेल प्रणालीको केन्द्र खेलाडी हुनुपर्छ, प्रशासन होइन । खेलाडीको सामाजिक सुरक्षा, बिमा, शिक्षा, रोजगारी, प्रशिक्षण र करियर व्यवस्थापनमा स्पष्ट नीति आवश्यक छ । खेलाडीको सम्मान भाषणमा होइन, संरचनामा देखिनुपर्छ ।
निजी क्षेत्र र साझेदारी : राज्य एक्लैले समग्र खेल क्षेत्र विकास गर्न सक्दैन । निजी क्षेत्र, समुदाय, शैक्षिक संस्था र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ । प्रायोजन संस्कृति विकास, सार्वजनिक–निजी साझेदारी, खेल फाउन्डेसन र व्यावसायिक व्यवस्थापनले मात्र खेल प्रणालीलाई बलियो बनाउन सक्छ ।
पदकभन्दा प्रणाली ठुलो : हामी धेरैजसो पदकलाई सफलता मान्छौँ । तर, वास्तविक सफलता पदक उत्पादन गर्ने प्रणाली निर्माण हो । कहिलेकाहीँ एकल सफलताले उत्साह दिन्छ, तर दिगो सफलता प्रणालीले मात्र दिन्छ । राष्ट्र निर्माणको दृष्टिले पनि व्यक्तिगत उपलब्धिभन्दा संस्थागत निर्माण महत्वपूर्ण हुन्छ ।
खेलकुदलाई केवल पदक, प्रतियोगिता वा मनोरञ्जनका रूपमा सीमित राख्ने सोच अब पर्याप्त छैन । खेलकुद राष्ट्र निर्माणको आधार स्तम्भ हो– स्वस्थ नागरिक निर्माणमा, युवा परिचालनमा, सामाजिक एकतामा, राष्ट्रिय गौरवमा, आर्थिक सम्भावना र अन्तर्राष्ट्रिय पहिचानमा यसको भूमिका गहिरो छ । राष्ट्र निर्माण केवल सडक, भवन र नीतिले हुँदैन, आत्मविश्वासी नागरिक, सशक्त युवा, अनुशासित समाज र गौरवशाली राष्ट्रिय पहिचानले हुन्छ । खेलकुदले यही निर्माण गर्छ ।त्यसैले अब स्पष्ट रूपमा भन्नुपर्छ– ‘खेलकुद पदकका लागि मात्र होइन, राष्ट्र निर्माणका लागि हो ।’
(पोखरेल कराँते प्रशिक्षक हुन्)