अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार दुई रनको रोमाञ्चक जित निकाली स्कटल्यान्ड आइसिसी विश्वकप लिग–२ को शीर्ष स्थान उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाएर तीन सय २१ रनको योगफल खडा गरेको थियो । अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो ।
फिल्ड अम्पायर बुद्धि प्रधान र दुर्गा सुवेदीले डर्कवथ लेविसअनुसार अमेरिकालाई ३२ ओभरमा दुई सय ४८ रनको नयाँ लक्ष्य दिए । अमेरिकाले ३२ ओभरमा अमेरिकाले आठ विकेट गुमाएर दुई सय ४६ रन बनाउँदा स्कटल्यान्डले दुई रनको बाजी मारेको हो । नेपाल भ्रमणमा रहेको स्कटल्यान्डको यो लगातार दोस्रो जित हो । संयोग कस्तो रह्यो भने पहिलो खेलमा पनि स्कटल्यान्डले घरेलु टोली नेपाललाई दुई रनले नै हराएको थियो ।
जितसँगै स्कटल्यान्ड आठ टोली सहभागी रहेको विश्कप लिग–२ मा ३८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । अमेरिका दोस्रो स्थानमा झरेको छ । स्कटल्यान्डको ३० खेलबाट ३८ तथा २५ खेलबाट अमेरिकाको ३६ अंक बटुलेको छ । विश्वकप लिग–२ मा सहभागी नेपाल १८ अंकसहित सातौँ स्थानमा छ ।
मुक्कमलाको शतकीय इनिङ्स
अमेरिकाले स्कटल्यान्डलाई अन्तिम ओभरसम्म चुनौती दिएको थियो । अमेरिका इनिङ्सको कुनै पनि समयमा पछि परेको थिएन । तर, अन्तिम ओभरमा आवश्यक रन बटुल्न नसक्दा अमेरिका झिनो दुई रनले पराजित भयो । अमेरिकाले जितका लागि प्रतिओभर ६.२५ रनरेट पाएको थियो । अमेरिकाका चौथो क्रमका ब्याट्सम्यान सैतेजा मुक्कमलले आक्रामक रूपमा ब्याटिङ गरी शतकीय योगदान दिए । तर, उनले टोलीलाई जित भने दिलाउन सकेनन् । उनले केवल ७५ बलमा आठ छक्का र पाँच चौका प्रहार गरी एक सय चार रनको योगदान दिए । उनलाई पुछार र मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिएनन् । अमेरिकाको ओपनर स्मित पटेलले ५६ बलमा एक छक्का र १२ चौकाको सहयोगमा ७२ रनको योगदान दिए । कप्तान मोनांक पटेल १२, शुभम रञ्जने १६ रनमा आउट भए । स्कटल्यान्डका ब्राड करी, ब्रान्डन म्याकमुलन र सफियान सरिफले समान दुई विकेट लिए ।
तीन खेलाडीको अर्धशतक
स्कटल्यान्डको ब्याटिङमा तीन खेलाडीले अर्धशतक बनाएका छन् । ओपनर फिन्ले म्याक्रिथले १०२ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए । ब्रान्डन म्याकमुलनले ४० बलमा पाँच चौका र तीन छक्कासहित ५५ रनको योगदान दिए । माइकल इंग्लिसले ३२ बलमा आठ चौका र दुई छक्कासहित ५८ रन बनाएका हुन् । जर्ज मुन्सेले २० रन, माइकल लिस्क २८ तथा मार्क वाटले २५ रनको योगदान दिए । अमेरिकाका लागि जसदीप सिंह र सौरभ नेत्रभाल्करले समान दुई विकेट लिएका थिए ।
अम्पायर प्रधानले पूरा गरे ५० खेल
नेपालका अनुभवी अम्पायर बुद्धि प्रधानले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० खेल पूरा गरेका छन् । अम्पायर प्रधानले बिहीबार आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डबिचको खेलमा अम्पायर बन्दै ५० खेलको आँकडा छोएका हुन् । योसँगै प्रधान एकदिवसीय अन्तर्राष्ट्रियमा ५० खेल पूरा गर्ने पहिलो नेपाली अम्पायर बनेका छन् । उनले सन् २००६ मा केन्या र बर्मुडाबिचको शृंखलामार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ सुरु गरेका थिए । दुई दशकमा उनले एसिया, अफ्रिका र युरोपमा अम्पायरिङ गरेका छन् । उनले एसियामा ३२ खेल, अफ्रिकामा १२ र युरोपमा ६ खेलमा अम्पायरको जिम्मेवारी निभाएका छन् ।