जर्मन व्यवसायीले निर्माण गरे नेपालको मूर्तिकलाबारे लघु चलचित्र

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

जर्मन व्यवसायी तथा विकास अभियन्ता उवे लुकले निर्माण गरेको लुघ चलचित्र ‘द मेकिङ अफ द स्ट्याचु मिलारेपा’ काठमाडौंस्थित मनास्लु होटल आयोजित कार्यक्रममा स्क्रिनिङ गरिएको छ । नेपाली मूर्तिकलाको परम्परागत प्रक्रियालाई विश्व दर्शकसामु प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र बनाइएको हो । 

यसमा नेपाली बौद्ध परम्पराका महान् सन्त मिलारेपाको मूर्ति निर्माण प्रक्रिया देखाइएको छ । यसक्रममा झन्डै १ वर्ष लामो मुर्ति निर्माण प्रक्रियालाई छायाँकन गरिएको थियो । 

वृत्तचित्रलाई अमरलाल श्रेष्ठले संयोजन गरेका हुन् । संयोजक श्रेष्ठले उवे लुकको परिवार नै विगत ५० वर्षभन्दा लामो समयदेखि नेपाल र नेपालीलाई विश्वमा चिनाउने काममा सक्रिय रहेको बताए । उनले यस वृत्तचित्र निर्माणले नेपाली मुर्तिकलालाई विश्वमा प्रवद्र्धन गर्ने काममा थप सहयोग गर्ने बताए । ‘मित्र लुकले वास्तवमा नेपाली कला मेसिनले होइन । यो मुलतः नेपाली कालीगढको पुस्तौंदेखिको पसिना साधना, धैर्य र स्वाभिमानले निर्माण हुन्छ भनेर चलचित्रमा देखाउन खोज्नुभएको छ,’ श्रेष्ठले भने,‘भनिन्छ कलाकृति बोल्दैनन् । तर म भन्छु उवे लुकको वृत्तचित्रले नेपाली कलाकारको सिर्जना, लगनशीलता र गाथा विश्वलाई सुनाउनेछ ।’

चलचित्रमा मूर्तिकारका रूपमा सविन्द्र शाक्य, सीताराम बि.क र रिनु शाक्यले काम गरेका छन् । त्यस्तै, बाल कलाकारमा रोनित प्रधान (जेम्स स्कूल), आर्यभलाल श्रेष्ठ र आर्या श्रेष्ठ (निसर्ग बाटिका स्कुल ) छन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक सिइओ हिक्मतसिंह ऐर, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेश लाल श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यलगायत अतिथीहरुको उपस्थिति थियो । 

हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाली हस्तकला सामाग्रीहरुको प्रवद्र्धनमा लामो समयदेखि लुकको परिवारले महत्वपूर्ण भूमिका खेलेको बताए । 

जर्मन स्वयंसेवी संस्था जर्मन भोलुन्टियर्सको पूर्व निर्देशक र जीटिजेटका पूर्व सल्लाहकार समेत रहेका उवे सन् १९७३ मा पहिलोपटक नेपाल आएका थिए । त्यसको केही समयपछि स्वर्गीय पत्नी टुडी बिल्लोसँग मिलेर उनले नेपाली हस्तकलालाई जर्मनीमा निर्यात गर्न थाले । लुकले यसअघि ‘सिंगिङ बल’ नामक वृत्तचित्र पनि निर्माण गरिसकेको जानकारी कार्यक्रम सञ्चालक कविता जोशी श्रेष्ठले दिइन् । 

‘मैले कृषि क्षेत्र, समाजसेवा र राजनीतिमा पनि लाग्छु भन्ने सोचेको थिएँ । तर फिल्म मेकिङमा लाग्छु भनेर कहिल्यै सोचिँन । तर एउटा समय आएपछि मलाई लाग्यो कि नेपालको परम्परागत हस्तकलाहरु बनाउने सीप संरक्षणका लागि भिडियो सामाग्रीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले मलाई ८० वर्ष नाघेपछि  यो वृत्तचित्र प्रेरित गरेको हो,’ उवले भने ।
 

सुझावित समाचार