प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले दुई दिनअघि संसदमा उठाएको विषय तथा तीन हप्ताअघि प्रधानमन्त्रीलाई बुझाएको लिखित माग सम्बोधन भएको उल्लेख गरेका हुन्।
उनका अनुसार सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्ने निर्णय गरेपछि आफ्नो अभियानले सार्थकता पाएको हो। पुनले अब उक्त मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम, देशभक्त वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेका छन्।
उनले नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै देशको वैज्ञानिक तथा प्रविधि विकासका लागि नयाँ मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, विगतमा आक्रोशका कारण नेताहरूप्रति दिएको ‘श्राप’समेत फिर्ता लिएको बताएका छन्।
महावीर पुनले लामो समयदेखि नेपालमा अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासलाई प्राथमिकता दिनुपर्ने माग उठाउँदै आएका छन्।