दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा २५ देखि २८ वैशाखसम्म शिविर आयोजना गरिएको थियो ।
शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरूलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयासस्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।
‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । बैंकले यसअघि सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ ।