झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बहालवाला उपसचिवसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आम्दानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारले नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी र गेहेन्द्रबहादुर डाँगीविरुद्ध मुद्दा दायर गरेको छ । त्यस्तै, लेखा अधिकृत हरिबहादुर क्षत्री (दिवंगत) र सहलेखापाल खड्कबहादुर रानालाई अख्तियारले प्रतिवादी बनाएको छ ।
आपसी मिलेमतो र योजनामा नगर विकास समितिको आर्थिक वर्ष ०७६/७७, ०७७/७८, ०७८/७९, ०७९/८० र ०८०/८१ को आम्दानी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
भाडाबापत समितिमा असुली रसिदबाट चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ राजस्व आम्दानी भएको थियो । उक्त रकम समितिको राजस्व खातामा दाखिला गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, त्यसमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र समितिको खातामा दाखिला गरेर बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।
प्रतिवादीहरूले राजस्व हिनामिना गरेपछि कसुरबाट बच्न उक्त रकम बैंक दाखिला भएको देखिने गलत विवरणसहितको आयव्याय विवरण तयार गरी अनुमोदनका लागि समितिको बैठकमा पेस गरेको देखिएको छ । समितिको बैठकबाट त्यसबारे निर्णयसमेत भएको अख्तियारको दाबी छ ।
अख्तियारले नगर विकास समितिका तत्कालीन सदस्यसचिवहरू ढकाललाई ६४ लाख २८ हजार ४३७, तिवारीलाई एक करोड चार लाख ७१ हजार ९४२ र डाँगीलाई ७२ लाख ७८ हजार ११० बिगो कायम गरेको छ ।