कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारणलाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशमा वैकल्पिक प्रसारणलाइनबाट विद्युत् दिन थालिएको छ । ढलेका टावर पुनर्निर्माण नभएसम्मका लागि पुरानो ३३ केभी प्रसारणलाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको हो । कम क्षमताको प्रसारणलाइनबाट आपूर्ति भएका कारण विद्युत् सेवा भने प्रभावित हुने ऊर्जा, जलस्र्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने लक्ष्यसहित निर्माण गरिएको पूर्वाधार आयोजना हो । तर, हावाहुरीका क्रममा रुख ढल्दा दुईवटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । टावर ढलेर विद्युत् आपूर्ति प्रभावित बनेको घटनाप्रति ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले चासो राख्दै मर्मत तथा छानबिन कार्यलाई तीव्र दिन सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ
उक्त घटनापछि प्राधिकरणले ग्रिड अपरेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त टावर निर्माणको जिम्मा आरएस इन्फ्रा कम्पनीले लिएको थियो । हालको क्षतिमा टावरको फाउन्डेसन नै पुनर्निर्माण गर्नुपर्ने अवस्था देखिएको र मर्मत तथा पुनर्स्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ । ‘१३२ केभी लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्तिलाई सुचारु गर्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारणलाइनमार्फत सीमित विद्युत् आपूर्ति सुरु गरिएको छ,’ मन्त्रालयले भनेको छ ।