निजगढमा शंकास्पद मृत्यु प्रकरण : हत्या आशंकामा पक्राउ परेकाहरूको पोलिग्राफ परीक्षण गरिने

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिका– ९, बुद्धचोकस्थित गुरुङ होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी सीता थिङको मृत्यु प्रकरणमा पक्राउ परेकाहरूको बयानको सत्यता पत्ता लगाउन प्रहरीले पोलिग्राफ (झुट पत्ता लगाउने) परीक्षण गर्ने तयारी गरेको छ।

घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय निजगढले मृतकका पुरुष साथी महेश माझी, उनका साथी सुनील बमजन र अनु विकले दिएको बयानबिच विरोधाभास देखिएपछि उनीहरूको भनाइको सत्यता परीक्षण गर्न पोलिग्राफ परीक्षणका लागि मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा पत्राचार गरिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले दिएका बयान एक–आपसमा मेल नखाएको र घटनाबारे स्पष्टता नआएको कारण पोलिग्राफ परीक्षण आवश्यक देखिएको हो।

प्रहरीसमक्ष महेश माझीले सीता थिङले होटेलको बाथरुममा रहेको सावरमा झुन्डिएर आत्महत्या गरेको दाबी गर्दै आएका छन्। तर, घटनास्थलको प्रारम्भिक अनुसन्धान र शव परीक्षणका संकेतहरूले उक्त घटनालाई शंकास्पद बनाएको प्रहरी स्रोतले जनाएको छ।

गत शुक्रबार साँझ होटेलमा पुगेकी निजगढ नगरपालिका– १२, कुलिया गाउँकी १९ वर्षीया सीता थिङको शव सोही राति करिब ११ बजे होटेलको कोठामा फेला परेको थियो। घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही दिन टाँगियाबस्तीका ३५ वर्षीय महेश माझी, ३६ वर्षीय सुनील बमजन र निजगढकी २५ वर्षीया अनु विकलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

शवको घाँटीमा दाग देखिएकाले प्रारम्भिक निरीक्षणले आत्महत्या हो वा हत्या भन्ने विषयमा थप शंका उत्पन्न गरेको प्रहरीको भनाइ छ। शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको थियो।

पोस्टमार्टमपछि मृतकको शव परिवारलाई बुझाई निजगढको कुलिया गाउँमा अन्तिम संस्कार गरिएको छ। प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान जारी रहेको र पोलिग्राफ परीक्षणपछि थप तथ्य बाहिर आउने जनाएको छ।

सुझावित समाचार