प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पाँच उपसमिति गठन गरेको छ । समितिले सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र विकास तथा लगानी प्रवर्द्धन, वित्तीय संघीयता अध्ययन तथा समिति समन्वय एवं परामर्श उपसमिति गठन गरेको हो । प्रत्येक उपसमितिको कार्यावधि ६ महिनाको रहनेछ । आवश्यकताअनुसार प्रगति प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था राखिएको छ ।
सार्वजनिक वित्त उपसमितिलाई अर्थ मन्त्रालय, राजस्व, भन्सार, कर प्रणाली, सार्वजनिक ऋण तथा बजेट कार्यालयसँग सम्बन्धित विषय हेर्ने जिम्मेवारी दिइएको छ । यसमा सांसदहरू कृष्णकुमार कार्की, खडकबहादुर बुढा, गीतिमा भण्डारी (कार्की), परशुराम तामाङ, प्राडा पुष्पराज कँडेल, विदुषी राणा र सुशील खड्का सदस्य छन् ।
दोस्रो वित्तीय क्षेत्र तथा आर्थिक विकास उपसमितिलाई राष्ट्रिय योजना आयोग, आवधिक योजना, विकास रणनीति, बैंकिङ, बिमा तथा पुँजी बजारको अध्ययन जिम्मा दिइएको छ । उपसमितिमा जगदीश खरेल, डा. ताराप्रसाद जोशी, ध्रुवराज राई, पारशमणि गेलाल, सुशीला इकाल (आचार्य) र सागर भुसाल सदस्य रहनेछन् । तेस्रो निजी क्षेत्र विकास तथा लगानी प्रवर्द्धन उपसमितिले निजी क्षेत्र, लगानी बोर्ड नेपाल, ठुला पूर्वाधार आयोजना तथा वैदेशिक सहायता परिचालनसँग सम्बन्धित विषय हेर्नेछ । उपसमितिमा खड्ग शाही, भरतप्रसाद पराजुली, रामबहादुर थापामगर, लिमा अधिकारी (आचार्य), विक्रम खनाल र सरिता महतो सदस्य छन् ।
चौथो वित्तीय संघीयता अध्ययन उपसमितिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग सम्बन्धित राजस्व बाँडफाँट, प्राकृतिक स्रोत व्यवस्थापन र वित्तीय संघीयताको विषय अध्ययन गर्नेछ । संघ, प्रदेश र स्थानीय तहबिच स्रोत बाँडफाँट, वित्तीय समानीकरण, जल, खनिज तथा वन स्रोतको उपयोग, सुशासन र पारदर्शिता मूल्यांकन, उजुरी सुनुवाइ तथा स्थलगत अनुगमन यसको मुख्य कार्य हुनेछन् । यसमा देवराज पाठक, नरेन्द्रकुमार केरुङ, पुष्पाकुमारी चौधरी, भरत गिरी, राजेशकुमार चौधरी र सुशान्त वैदिक सदस्य छन् ।
पाँचौँ समिति समन्वय तथा परामर्श उपसमितिले समग्र अर्थ समितिको बैठक व्यवस्थापन, कार्यसूची निर्धारण, उपसमितिबिच समन्वय, निर्देशन कार्यान्वयन अनुगमन तथा आकस्मिक सार्वजनिक महŒवका विषयमा प्रारम्भिक छलफल गर्नेछ ।
यस उपसमितिको संयोजकमा डा. कृष्णहरि बुढाथोकी प्रस्तावित छन् । सदस्यमा खडकबहादुर बुढा, ध्रुवराज राई, नीतिमा भण्डारी (कार्की), परशुराम तामाङ, पारशमणि गेलाल, प्राडा पुष्पराज कँडेल, भरत गिरी, लिमा अधिकारी (आचार्य), सुशील खड्का र सुशान्त वैदिक रहने सूची तयार गरिएको छ ।